इटहरीः पाँचथरको दुई स्थानीय तह फालेलुङ र हिलिहाङ गाउँपालिकाले कोरोना महामारीबाट बच्न निर्माण गरेको अस्थायी अस्पताल सञ्चालनमा आएका छन् ।

हिलिहाङ गाउँपालिकाको अस्पताल मंगलबारबाट सञ्चालनमा आएको हो भने फालेलुङ गाउँपालिकाको अस्पताल बिहीबारबाट चल्न थालेको हो । हिलिहाङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्र घिमिरेका अनुसार गाउँपालिकामा सञ्चालित अस्पतालमा एक जना एमबीबीएस डाक्टरसहित दुई जना स्टाफ नर्सको दरबन्दी कायम गरिएको छ । फालेलुङमा भने चिकित्सक दरबन्दी आह्वान गरिए पनि जनशक्ति उपलब्ध नहुँदा हाल दुई जना स्टाफ नर्स मात्र राखी अस्पताल सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद चौहानले जानकारी दिए ।

दुवै स्थानीय तहले संघीय सरकारको १० लाख रुपैयाँको सहायता र आन्तरिक लगानीको संयोजनमा अस्पताल सञ्चालनमा ल्याएका हुन् । फालेलुङको प्राङबुङ इलाका स्वास्थ्य चौकी र हिलिहाङको गोपेटार स्वास्थ्य चौकीमा सञ्चालित अस्पताल प्रारम्भिक चरणमा तीन महिनासम्म सञ्चालनमा रहने र आवश्यकताका आधारमा निरन्तरताको निर्णय गरिने स्थानीय पालिकाको कथन छ ।