इटहरीः पछिल्लो २४ घण्टामा सुनसरीको धरान उपमहानगरमा होम आईसोलसनमा चारजनाको मृत्यु भयो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत समेत जोड्दा धरानमा मात्र मृत्यु हुनेको संख्या आठ पुग्यो । कोरोना संक्रमणको दर बढ्दै जाँदा प्रदेश १ का प्रमुख सहरमा संक्रमण केन्द्रीत भएको छ ।

प्रतिष्ठानमा अहिले दैनिक रुपमा लक्ष्यणसहितका कोरोना संक्रमित भर्ना हुने क्रम बढेको छ । होम आईसोलेसनमा बसेकाहरुमा श्वास प्रश्वासमा समस्या देखिन थालेपछि दैनिक टोलिफोन गरेर आईसियूबारे बुझ्न थालेको प्रतिष्ठानले जनाको छ । तर, बेड अभावमा सबैले उपचार पाउन भने सकेका छैनन । प्रतिष्ठानका कोरोना संयोजक डा। इन्द्र लिम्बूले लक्ष्यणसहितका बिरामीको चाप बढ्न थालेपछि उपचारमा समस्या हुन थालेको बताएका छन । प्रतिष्ठानले बिरामीको चाप बढेसंगै पहिल्यै जानकारी लिएर मात्रै प्रतिष्ठानमा भर्ना हुन आउन सूचना जारी गरेको छ ।

विराटनगरमा पछिल्लो २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । महानगरमा संक्रमणको दरसमेत दैनिक बढ्दो क्रममा छ । महानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार हालसम्म संक्रमणबाट महानगर क्षेत्रभित्र २८ जनाले ज्यान गुमाई सकेका छन । संक्रमित हुनेको संख्या चार हजार पुगेको छ । महानगरका स्वास्थ्य महाशाखाका प्रमुख भन्छन्,“दैनिक संक्रमितको संख्या बढ्दो छ । संक्रमण दर समेत बढ्दै जानु चिन्ताको विषय भएको छ ।” कार्कीले विराटनगरमा दैनिक औसत डेढ सय जनामा संक्रमण देखिन थालेको छ । संक्रमित बढेसंगै महानगर क्षेत्रमा आईसोलेसन र अस्पताल भरिएका छन । महानगरमा १३ हजार ३ सय ७० जनाको पीसीआर परीक्षण भएको छ । विराटनगर महानगरका मेयर भीम पराजुली भन्छन्,“संक्रमित थपिंदै जाँदा अलि दीर्घरोगी र अक्सिजन दिनुपर्नेहरुको व्यवस्थापनमा भने चुनौती थपिएको छ । हामीले संघीय र प्रदेश सरकारको पनि ध्यानाकर्षण गरिरहेका छौं ।”

इटहरी उपमहानगरपालिकाले अर्को सूचना नआउन्जेलसम्मको लागि पीसीआर परीक्षण गर्न स्वाब संकलनको कार्य बन्द गरेको छ । प्रदेश प्रयोगशाला विराटनगर र धरानस्थित बीपी प्रतिष्ठानले रिएजन्टको अभाव भएको जनाउ दिएपछि इटहरीले सार्वजनिक सूचना जारी गरी स्वाब संकलन बन्द गरेको हो । उपमहानगरमा हालसम्म १००५ जनामा संक्रमण देखिएको छ । कोरोना संक्रमणबाट हालसम्म इटहरीमा ११ जनाले ज्यान गुमाईसकेको स्वास्थ्य शाखा प्रमुख रामशरण चौधरीका जानकारी दिएका छन । भने,“संक्रमितको संख्या बढेसंगै मृतक पनि थपिन थालेका छन ।”

प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार जिल्लागत रुपमा हेर्दा मोरङमा ५२ जनाको मृत्यु भएको छ । यसैगरी सुनसरीमा ४२ र झापामा १० जनाले ज्यान गुमाएका छन । संक्रमित हुनेमध्ये पनि अधिक यिनै तीन जिल्लाका प्रमुख सहरहरुमा छन । प्रदेशमा १२ हजार २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशभरका संक्रमितमध्ये आधाभन्दा धेरै तीन जिल्ला झापा, मोरङ र सुनसरीको रहेको आजको कोशीपत्र दैनिकमा खबर प्रकाशित भएको छ ।