इटहरीः मोरङको विराटनगरस्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालयले हिजोदेखि आफ्ना सबै सेवा बन्द गरेको छ ।

कार्यालयमा कार्यरत ३० जना कर्मचारीमा कोरोना पुष्टि भएपछि सेवा बन्द गर्नुपरेको कार्यालयका प्रमुख राजिव सिंहले जानकारी दिए । उनका अनुसार दुई दिनभित्र ३० जना कर्मचारी संक्रमित भएपछि कार्यालय बन्द गर्ने सूचना जारी गरिएको हो । सूचना अनुसार कार्यालयमा रहेका महसुल काउण्टर, प्रशासनिक काम कारबाही र नयाँ ग्राहक वितरणको काम बन्द गरिएको छ ।

प्राधिकरणमा रहेका एक सय ८० कर्मचारीमध्ये प्राविधिक र प्रशासन दुवै समूहका ३० जना संक्रमित देखिएका छन् । कार्यालयमा हालसम्म ८० जनाको मात्र पीसीआर परीक्षण सम्पन्न भएको छ । बाँकी रहेका एक सय जनाको पीसीआर परीक्षण गरी सबै कर्मचारी संक्रमुक्त भए मात्र कार्यालय सञ्चालनमा आउने प्रमुख सिंहको भनाइ छ । गत साउन २७ गते विराटनगर महानगरपालिका ३ घर भई सोही कार्यालयमा कार्यरत ५६ वर्षीय पुरुष कर्मचारीको संक्रमणकै कारण ज्यान गएको थियो ।