इटहरीः मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा गएराति उपचारका लागि लगिएकी महिलाको उपचारका क्रममा मृत्यु भएपछि अस्पतालमा झडप भएको छ ।

nobel todfod

पेट दुखेको र स्वासप्रस्वासमा समस्या भएकोमा हिजो साँझ ६ः३० बजे अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएकी विराटनगर महानगरपालिका–३ घर भएकी ५१ वर्षीया लक्ष्मीकुमारी पोखरेलको साँझ ७ः३० बजेतिर मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको आरोप लगाउँदै बिरामीका आफन्त र स्थानीयले अस्पतालविरुद्ध नाराबाजी र तोडफोड गरेको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

अस्पताल पुर्याउँदा बिरामीको अवस्था सामान्य रहेकोमा उपचार सुरु भएपछि गम्भीर अवस्थामा पुगेकी उनलाई अस्पतालले आईसीयू वा भेन्टिलेटरमा नराख्दा ज्यान गएको आफन्तको आरोप छ । आक्रोशित भीडले तोडफोड गर्नुका साथै चिकित्सकमाथि हातपातसमेत गरेको अस्पतालको आरोप छ । स्थिति नियन्त्रणबाहिर जान नदिन प्रहरी निरीक्षक मिलन थापा र शम्भु बस्नेतको नेतृत्वमा परिचालित सुरक्षाकर्मीले लाठीचार्ज गरी राति १२ बजे स्थिति सामान्य पारेका थिए ।

अस्पतालकोको १ क २४१६ र को १ क १०९३ नम्बरको बसको अगाडिको सिसा फुटेपछि तोडफोड तथा चिकित्सकमाथि दुव्र्यवहार गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । अस्पतालले लापरबाहीको आरोप अस्वीकार गरेको छ । प्रबन्त्रक दाहालले मृतकमा मधुमेह र मृगौलाको दीर्घकालीन समस्या रहेकोमा अस्पताल ल्याएको केहीबेरमै मृत्यु भएकाले अस्पतालबाट कुनै लापरबाही नभएको जिकीर गरेका छन् । परिवारले पनि दीर्घरोग रहेको तथ्य स्वीकार गरेको छ ।

तर, मृतकका छिमेकी विनेश पौडेलले भने चिकित्सकले केही समयको फरकमा सुइमार्फत तीनवटा औषधि दिएकोमा सोको पाँच मिनेटभित्रै बिरामीको अवस्था झन् गम्भीर बनेको बताउँदै गलत औषधिकै कारण बिरामीले ज्यान गुमाउनुपरेको आरोप लगाएका छन् । बिरामीको मृत्युको कारण प्रष्ट पार्दै दोषी चिकित्सकलाई कारबाही हुनुपर्ने माग गर्दै आफन्तले शवसमेत बुझेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले चिकित्सकमाथि दुव्र्यवहार र तोडफोड भएपछि स्थिति नियन्त्रणका लागि प्रहरीले सामान्य बल प्रयोग गरको बताए । चिकित्सकको लापरबाही देखिए कानून अनुसार कारबाही गर्न सकिने उनको भनाइ छ ।