इटहरीः प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नेपालीहरुको महान चाड विजयादशमी, शुभ दीपावली, छठलगायतका पर्वको अवसरमा आज प्रदेशवासीका नाममा शुभकामना व्यक्त गरेका छन् ।
विजयादशमीको पहिलो दिन घटस्थापनाको अवसरमा आज जारी शुभकामना सन्देशमा उनले चाडपर्व मनाउँदा सजगता अपनाउन सर्वसाधारणमा आग्रह पनि गरेका छन् । प्रदेश प्रमुखद्वारा जारी सन्देशमा‘हाम्रो सानो लापरवाहीले ठूलो जोखिम सिर्जना हुन सक्छ, हामी बाँचे भोलिका दिनमा चाडपर्व मनाउन र आशीर्वाद ग्रहण गर्न पाइन्छ, अहिले घरमै बसेर सञ्चारका साधन र प्रविधिको उच्चतम प्रयोग गरौं ’ भनिएको छ ।
कोरोना भाइरसको महामारीबाट बच्न चाडपर्व मनाउँदा विशेष सावधानी अपनाउनुपर्ने धारणा राख्दै प्रदेश प्रमुख अधिकारीले सन्देशमा कोरोना कहरबाट सबैलाई मुक्ति मिलोस् भन्ने शुभकामनाव्यक्त गरेका छन् । चाडपर्वले राष्ट्रिय एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवुद्धि गरी सकारात्मक सोचसहितको सुसँस्कृत समाज निर्माण होस् भन्ने शुभेच्छासमेत सन्देशमा व्यक्त गरिएको छ ।