इटहरीः मोरङका यवसायीहरुको संगठन मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले बढ्दो कोरोना संक्रमण नियन्त्रणमा लिई नागरिकको जीवनरक्षा गर्न संयुक्त रुपमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

दुवै संगठनले आज महामारी नियन्त्रणका लागि ठोस पहल गर्न भन्दै संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई पत्र पठाएका हुन् । पत्रमा प्रदेश १ मा संक्रमण र मृत्युदर उच्च रहेकाले संक्रमितको उपचारका लागि अस्पतालको शैय्या संख्या दोब्बर पार्न आग्रह गरिएको छ ।

प्रदेश १ मा रहेका अस्पतालमा एक सय शैय्या, नर्सिङ होममा ५० शैय्याको आइसोलेसन सञ्चालनमा ल्याउने वातावरण तयार गर्न तथा प्रदेश सरकारले घोषणा गरेको एक हजार शैय्याको आइसोलेसन निर्माणको कामलाई यथासिघ्र पूर्णता दिन पनि व्यवसायीहरुले सरकारलाई आग्रह गरेका छन् । १२ हजार सात सय जना कोरोना संक्रमित रहेको प्रदेश १ मा हालसम्म एक सय २५ जनाले संक्रमणकै कारण मृत्यु वरण गरिसकेका छन् ।