इटहरीः झापामा कोरोना संक्रमण आक्रामक रुपमा बढ्न थालेको भन्दै दुई स्थानीय तहले आजदेखि कार्यालयको सेवा बन्द गरेका छन् ।

बिर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकाले आकस्मिक सेवा यथावत राख्दै अन्य सम्पूर्ण सेवाहरु कार्तिक ६ गतेसम्मका लागि बन्द गरेका हुन् । दुवै स्थानीय तहले विद्युत्, खानेपानी, टेलिफोन महसुल लगायतका सेवासमेत बन्द गर्ने तथा चाडपर्वमा भेला, महोत्सव, जात्रा, हाटबजार, सांस्कृतिक कार्यक्रमजस्ता भीडभाड हुने सबै कार्य बन्द गर्न आग्रह गरेका छन् ।

बजारमा हुन सक्ने भीडभाडलाई व्यवस्थित गर्दै सरकारद्वारा तोकिएको स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार सिवाकोटीले बताए । ३२ जनामा संक्रमण पुष्टि भएपछि स्थिति थप जटिल बन्न नदिन अर्जुनधारा नगरपालिकाले पनि आकस्मिक बाहेकका सेवा सञ्चालन अवरुद्ध गरेको हो ।