इटहरीः मोरङको विराटनगर महानगरपालिका १४ मा विगत ३५ वर्षदेखि सञ्चालित श्रीकृष्ण गौशाला आर्थिक अभावका कारण संकटमा परेको छ ।

विभिन्न व्यक्ति तथा संस्थाको स्वैच्छिक दानबाट प्राप्त रकमबाट गौशालाको व्यवस्थापन गरिँदै आएकोमा कोरोना महामारीका कारण आगन्तुकको संख्यामा गिरावट आएपछि गाईको आहारा जुटाउन समस्या भएको गौशालाका प्रबन्धक सन्तोषकुमार यादवको भनाइ छ । हाल आर्थिक संकटका कारण दानापानी व्यवस्थापन गर्न नसकिएको बताउँदै प्रबन्धक यादवले कृष्ण गौ सेवा सदनमार्फत् प्राप्त सहयोगबाट दानापानी व्यवस्थापन गर्नुपरेको बताए ।

वि.स.२०४२ सालमा तीन बिघा क्षेत्रफलसहित सञ्चालनमा आएको गौशालामा हाल दुई सय पाँच ओटा गाई आश्रित छन् । प्रबन्धक यादवले दैनिक दुई सय किलो दानाका साथै पराल खपत हुने गौशाला व्यवस्थापनका लागि वार्षिक ७५ लाख रुपैयाँ खर्च हुने गरेको बताए । उनका अनुसार बायोग्यास र कम्पोष्ट मलको बिक्रीबाट गौशालाले वार्षिक २० लाख रुपैयाँको मात्र आम्दानी गर्दै आएको छ ।