इटहरीः संखुवासभाको खाँदबारी नगरपालिकाले कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि कृषकलाई यान्त्रिक हलो प्रदान गरेको छ ।

नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडाका अनुसार स्थानीय कृषकहरुलाई नगरपालिकाले २८ ओटा हलो (मिनिटिलर) अनुदानमा उपलब्ध गराएको हो । यान्त्रिक हलोको प्रयोगबाट श्रम र समयको बचतका साथै कृषि उत्पादनमा वृद्धि हुने भन्दै मेयर खतिवडाले किसानलाई राज्यले गरेको लगानीको सदुपयोग गर्दै उत्पादन वृद्धि हुनेगरी आधुनिक खेति गर्न आग्रह गरे ।

खाँदबारी नगरपालिकाका कृषि शाखा प्रमुख मेगराज पोख्रेलका अनुसार ६३ हजार दुई सय ५० रुपैयाँ मूल्यको सो मिनिटिलर नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा प्रदान गरेको हो । नगरका ११ वडाका कृषक तथा कृषि समूहलाई वितरण गरिएको मिनिटिलरको खरिदमा कुल एक करोड ७७ लाख एक हजार रुपैयाँ खर्च भएको नगरपालिकाको तथ्याङ्क छ । नगरपालिकाले हरेक वर्ष गर्दै आएको अनुदान वितरणलाई निरन्तरता दिएको हो ।