इटहरी: चाड पर्वको समयमा भीडभाड भई कोरोना भाइरस को जोखिम बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले धनकुटामा निषेधाज्ञा घोषणा गरेको छ । निषेधाज्ञाको समयमा जिल्लाका सबै नगर तथा गाउँपालिकामा रहेका शक्तिपिठ, मन्दिर, मस्जिद, चर्च, गुम्बाहरुमा दैनिक गरिने नृत्य पाठपूजा, प्रार्थना बाहेक सामुहिक रुपमा भेला भई कुनै पनि कार्य गर्न पाईने छैन ।

त्यस्तै चाडपर्वको अवसर पारेर सामुदायिक रुपमा भेला भई शुभकामना आदान प्रदान जस्ता कार्य निषेध गरिएको छ भने जिल्लाभरी बेलुका ८ बजेदेखि विहान ५ बजेसम्म आवत जावतमा पनि निषेध गरिएको छ । तर राजमार्गमा चल्ने लामो दुरी र अत्यावश्यक सेवाका सवारी साधनहरु भने निर्वाध रुपमा संचालन हुने प्रमुख जिल्ला अधिकारी विमलीले बताए ।

प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले सुचना जारी गर्दै दशै, तिहार, छैठ लगायतका पर्वहरुमा पूजा, प्रार्थनाका लागि मठ, मन्दिर सहितका शक्तिपिठहरुमा विगत वर्षहरु जस्तो हर्षोल्लासका साथ पूजा आराधना गर्ने अवस्था नरहेकाले कात्तिक ३ गतेदेखि कात्तिक १५ गते राति १२ बजेसम्मको लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको बताईएको छ ।