विराटनगरः कोशी प्रदेशका सुनसरी, झापा र उदयपुरका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित ११ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट गाँजा, ब्राउन सुगर तथा विभिन्न प्रकारका प्रतिबन्धित औषधि बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार सुनसरीको देवानगञ्ज गाउँपालिका–२ स्थित घुस्की सडक खण्डबाट १३ किलो ५२० ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले प्र १–०२–०४६ प १७४३ नम्बरको मोटरसाइकलमा गाँजा ल्याउँदै गरेका हरिनगर गाउँपालिका–६, घुस्कीका २६ वर्षीय लुकमान अंसारी र भारतको पूर्णियाका २८ वर्षीय एमलि मझाललाई पक्राउ गरेको हो।
यसैगरी, इलाका प्रहरी कार्यालय लौकहीले ट्रामाडोल हाइड्रोक्लोराइड लेखिएको १ हजार २६० क्याप्सुल र नाइट्राजेपाम लेखिएको ४० ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरको चौदण्डी नगरपालिका–९ का २६ वर्षीय लालबहादुर श्रेष्ठ र सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का २४ वर्षीय निर्मल श्रेष्ठ रहेका छन्।
झापाको बिर्तामोड नगरपालिका–१०, कुवापानीटोलबाट पनि प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलीले स्थानीय २० वर्षीय प्रदीप बर्देवा र २७ वर्षीय लुखिराम मुर्मुलाई ९०० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो।
त्यस्तै, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८, सिसुवाधरमपुरबाट ३६० मिलिग्राम ब्राउन सुगरसहित भोक्राहा नरसिंह गाउँपालिका–२ का २७ वर्षीय मोहम्मद आजाद पक्राउ परेका छन्। उनलाई प्रहरी चौकी सिसुवाधरमपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो।
उदयपुरको चौदण्डीगढी नगरपालिका–३, पैतालिस चोकबाट पनि लागूऔषधसहित चार जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले स्थानीय २० वर्षीय प्रणय राई, २० वर्षीय रमण राई, १९ वर्षीय रोजित राई र २३ वर्षीय देवराज परियारलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट डाइसाइक्लोमाइन हाइड्रोक्लोराइड लेखिएको डेकोलिसका १७ ट्याब्लेट, स्पास्पेनका ५० ट्याब्लेट र ट्रामाडोल हाइड्रोक्लोराइडका ७० क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबै ११ जनामाथि सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















