इटहरीः सरकारले आगामी मंसिर १५ गते देशभर ६ सय ४९ ओटा अस्पताल शिलान्यास गर्ने तयारी गरेको छ । प्रत्येक स्थानीय पालिकामा एउटाका दरले स्थापना गर्न लागिए्को अस्पताल पाँचदेखि १५ शैय्याका हुनेछन् ।

देशभरका कुल सात सय ५३ स्थानीय पालिकामध्ये एक सय चार पालिकामा यसअघि नै आधारभूत अस्पताल निर्माण गरिसकेको सरकारले बाँकी सबै पालिकाका लागि यस पटक रकम विनियोजन गरेको अर्थ मन्त्रालयले जनाएको छ । अस्पताल निर्माणको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको डिजाइन सबै पालिकालाई उपलब्ध गराई निर्माणको काम अगाडि बढाइने अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले बताए ।

उनका अनुसार अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसहितको आइतबारको बैठकले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने आईसीयू, भेन्टिलेटर लगायतका उपकरण तत्काल खरिद गर्ने गरी तयार भएको कार्ययोजना स्वास्थ्य मन्त्रालयले अगाडि बढाउने र कार्ययोजना कार्यान्वयनको आर्थिक व्यवस्थापन अर्थ मन्त्रालयले मिलाउने सहमति भएको छ ।