इटहरीः उदयपुरको कटारी नगरपालिकाका मेयर र प्रमुख प्रशासकिय अधिकृतसहित चार जना कोरोना संक्रमित भएका छन् ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालका अनुसार मेयरसहित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, कटारीस्थित इलाका प्रशासन कार्यालयका प्रमुखका साथै थप एक जना संक्रमित देखिएका हुन् । स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार कटारी क्षेत्रका १३ जना शंकास्पद संक्रमितको स्वाब असोज २ गते संकलन गरी सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा आज प्राप्त भएको नतिजा पोजिटिभ देखिएको हो ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सुवेदीको भनाइ छ । जिल्ला समन्वय समिति प्रमुख र बेलका नगरपालिकाका प्रमुखमा समेत संक्रमण देखिएको जिल्लामा हालसम्म दुई सय चार जना संक्रमितको पहिचान भएको छ ।