इटहरीः झापाको दमक नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी र आम्दा अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि नगरपालिका र अस्पताल दुवैले आजबाट आफ्नो सेवा बन्द गरेका छन् ।

मेयरसमेत संक्रमित भएपछि नगरपालिकाले सेवा बन्द गरेको हो । कोरोना संक्रमितको समेत उपचार हुँदै आएको आम्दा अस्पतालले दुई दिनका लागि सबै सेवा बन्द गरेको जनाएको छ ।

हिजो सोमबार बसेको कार्यपालिका बैठकको निर्णय अनुसार आजदेखि तीन दिनसम्म नगरपालिका र मातहतका वडा कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरिएको नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बताइन् । उनका अनुसार कार्यालय बन्द रहेपनि अत्यावश्यक सेवा प्रवाह भने यथावत रहनेछ । तीन दिनपछि दसैँ बिदा सुरु हुने बताउँदै उनले कार्यालयको नियमित सेवा दसैँपछि सुचारु हुने प्रष्ट पारिन् ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेधाज्ञा उल्लङ्घन नगर्न सर्वसाधारणमा आग्रह गर्दै नगरपालिकाले जमघटजन्य गतिविधिमा सहभागी नहुन सचेत गराएको छ । नगरपालिकाले कोरोना संक्रमितहरुको उपचारका लागि दमकका दुई स्थानमा कोभिड अस्पताल निर्माण गरिरहेको र एउटा भने सञ्चालनको अवस्थामा रहेको उपमेयर अधिकारीको भनाइ छ ।