इटहरीः संघीय सरकारले कोरोना संक्रमितको उपचार खर्च व्यहोर्नुपर्ने दायित्वबाट पन्छिँदै संक्रमित आफैँले उपचार खर्च व्यहोर्नुपर्ने नियम लादेका बेला प्रदेश १ सरकारले भने संक्रमितको उपचार खर्च व्यहोर्ने भएको छ ।

प्रदेश सरकारले उपचारको दायित्व बहन गर्ने भएपछि नागरिकहरु खर्च अभावमा मृत्यु वरण गर्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् । प्रदेश १ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले निजी अस्पतालमा सशुल्क उपचार गराउन चाहनेलाई नरोकिने बताउँदै प्रदेश सरकारले व्यवस्थापन गरेका सरकारी अस्पतालहरुमा उपचार गर्न आउने बिरामीको प्रदेश सरकारले निःशुल्क उपचार गर्ने बताए । सरकारले तय गरेको स्वास्थ्य मापदण्ड पूरा गरेका निजी अस्पतालमा शुल्क बुझाउन सक्ने नागरिकले कोरोना परीक्षण गर्ने र उपचार सेवा लिन सक्ने उनको भनाइ छ ।

प्रदेश १ को राजधानी विराटनगरमा सरकारी स्तरबाट आईसीयू र भेन्टिलेटरसहित ८० बेडको कोसी कोभिड उपचार केन्द्र सञ्चालित छ भने निजी क्षेत्रका नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल र न्युरो अस्प्तालमा पनि उपचार सेवा सञ्चालनमा छ । कोसी कोभिड उपचार केन्द्रमा हालसम्म चार सय ७९ जना संक्रमित निको भई ६१ जना उपचाररत रहेका छन् । यहाँ उपचाररत १८ जना संक्रमितको ज्यान गएको छ ।लक्षणसहितका बिरामीको बढ्दो संख्यालाई मध्यनजर गर्दै प्रदेश १ सरकारले कोसी कोभिडको स्तरोन्‍नति गर्ने निर्णय गरी थप एक सय बेडका लागि एक करोड रुपैयाँ विनियोजन गरेको मन्त्री कार्कीले बताए । उनका अनुसार झापाको मेची अस्पतालको स्तरोन्नतिका लागि ५० लाख रुपैयाँ विनियोजन भएको छ ।

यसैगरी, सुनसरीको धरानस्थित बीपी कौइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रदेश सरकारकै सहयोगमा संक्रमितको निःशुल्क उपचार भइरहेको छ । यहाँ संक्रमितको शल्यकृया तथा डेलिभरीको समेत सुविधा छ । प्रदेश १ सरकारले बढ्दो संक्रमणलाई व्यवस्थित गर्ने उद्देश्यले स्थानीय तहले व्यवस्थापन गरेका आइसोलेसन सेन्टरहरुमा समेत अक्सिजनको उचित प्रबन्ध गर्न र जिल्ला अस्पतालहरुमा पनि पर्याप्त अक्सिजनको व्यवस्थापन गर्न निर्देशन दिएको छ । विराटनगरमा विराटनगर महानगरपालिकाको व्यवस्थापनमा आइसोलेसन सञ्‍चालनमा छन् ।

होटेल आइसोलेसनसमेत चलाइएको छ । रंगेली नगरपालिकाले पनि आइसोलेसन सञ्‍चालन गरिरहेको छ । केहीअघि ती आइसोलेसन केन्द्रहरुको व्यवस्थापनका लागि प्रदेश सरकारले रकम निकासा गरिदिएको थियो । प्रदेश १ मा हालसम्म १३ हजार ९८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६ हजार ४० जना उपचारपछि डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितको संख्या सात हजार ८ सय १२ छ । कोरोना संक्रमणबाट प्रदेशमा १ मा १३६ जनाको मृत्यु भइसकेको छ ।