इटहरीःमोरङको विराटनगरका विभिन्न अस्पतालमा उपचारका क्रममा हिजो सोमबार साँझदेखि आज मंगलबार बिहानसम्म इटहरीका एकसहित सात जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

मृतकहरुमा दुई जना पुरुष र पाँच जना महिला रहेका छन् । कोसी अस्पतालको कोभिड उपचार केन्द्रमा तीन जना, विराट नर्सिङ होम, नोबेल शिक्षण अस्पताल, न्युरो अस्पताल र विराट मेडिकल कलेजमा एक एक जना संक्रमितको ज्यान गएको हो । कोसी कोभिड उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ३८ वर्षीय पुरुषको सोमबार साँझ करिब ६ः३० बजे केन्द्रमा उपचारका क्रममा ज्यान गएको बताए । उनका अनुसार कोरोना पोजेटिभ देखिएपछि घरमै होम आइसोलेसनमा रहेका पुरुषलार्ई श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार दिउँसो केन्द्रमा भर्ना गरिएको थियो ।

यसैगरी सोमबार नै उपचारका लागि केन्द्रमा भर्ना भएकी विराटनगर महानगरपालिका–१२ घर भएकी ६४ वर्षीया महिलाको पनि आज बिहान करिब ४ः४५ बजे मृत्यु भएको उनले बताए । उनका अनुसार आजै बिहान ५ः३० बजे कटहरी गाउँपालिका–२ आदर्श टोलकी २१ वर्षीया युवतिको पनि कोेसी कोभिड उपचार केन्द्रमा ज्यान गएको छ । उनलाई आइतबार कोरोना देखिएपछि केन्द्रमा भर्ना गरिएको बस्नेतले उल्लेख गरे । यसैगरी, मोरङको रतुवामाई नगरपालिका–४ का ४० वर्षीय पुरुषको पनि सोमबार राति ११ मृत्यु केन्द्रमै ज्यान गएकोमा उनको पीसीआर परीक्षणको नतिजा भने सार्वजनिक नभएको बस्नेतको भनाइ छ ।

यसैगरी, असोज १५ गते संक्रमण पुष्टि भई २४ गते न्युरो अस्पतालमा उपचारार्थ भर्ना भएकी विराटनगर–१० की ६४ वर्षीया महिलाको आज बिहान ५ बजे मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले बताए । यस्तै, असोज २६ गते संक्रमण पुष्टि भई गत शनिबार उपचारार्थ नोबेल शिक्षण अस्पतालमा भर्ना भएकी विराटनगर–७ घर भएकी ६९ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान ८ बजे मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । यसैगरी, विराट नर्सिङ होममा उपचाररत मोरङको रंगेली नगरपालिका–३ घर भएका ८५ वर्षीय पुरुषको आज सोमबार राति करिब १२ बजे ज्यान गएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार पुरुषलाई २८ गते कोरोना संक्रमण पुष्टि भई स्वासप्रस्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । यसैगरी, मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेजको आइसोलेसनमा असोज ३० गतेदेखि उपचाररत झापाको बिर्तामोड ४ घर भएकी ७६ वर्षीया महिलाको आज बिहान करिब ८ः५० बजे ज्यान गएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले बताए । उनका अनुसार मृतक महिलामा निमोनियाको दीर्घकालीन समस्या रहेको थियो ।