इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा तीन जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा सुनसरीको इटहरी उपमहानगरपालिका बस्ने ५६ वर्षीय, धरान उपमहानगरपालिका ३ घर भएका ७२ वर्षीय र धरान १७ घर भएका ६८ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले बताए । उनका अनुसार तीनै जना संक्रमितको हिजो सोमबार उपचारका क्रममा मृत्यु भएकोमा आज सार्वजनिक गरिएको हो । सहप्रवक्ता श्रेष्ठले इटहरीका पुरुषलाई कात्तिक १ गते कोरोना पुष्टि भएकोमा अस्पतालमा बेड अभावका कारण होम आइसोलेसनमा रही ३ गते स्वासप्रस्वासमा समस्या आएपछि प्रतिष्ठान भर्ना भएकोमा आइसोलेसनमा उपचारका क्रममा सोमबार उनले ज्यान गुमाएको बताए ।

यसैगरी, धरानका ७२ वर्षीय पुरुषमा असोज २९ गते संक्रमण पुष्टि भई कात्तिक ३ गते स्वासप्रस्वासमा समस्या आएपछि सोही दिन प्रतिष्ठान भर्ना भएका उनको सोमबार उपचारका क्रममा आइसोलेसनमा ज्यान गएको सहप्रवक्ता श्रेष्ठले बताए । यस्तै, गत असोज २८ गते संक्रमण पुष्टि भई कात्तिक ३ गते स्वासप्रस्वासमा समस्या आएपछि प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका ६८ वर्षीय पूरुषको पनि सोमबार नै ज्यान गएको सहप्रवक्ता श्रेष्ठको भनाइ छ । उनका अनुसार मृतकमा लामो समयदेखि उच्च रक्ताचापको समस्या रहेको थियो ।

यसका साथै, प्रतिष्ठानको माइक्रोबायोलोजी विभागमा तीन दिनअघि संकलन गरिएका स्वाब परीक्षणको नतिजा आएपछि आज थप दुई सय ८५ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको प्रतिष्ठानले जनाएको छ ।