इटहरीः तीन बर्षअघिबाट स्वास्थ्य विभाग लगायत निकायबाट अनुमति नलिई गैंर कानूनी रुपमा संजय झाले इटहरीमा संचालन गरिरहेको विराट पाथीभरा पोलिक्लिनिकमा आज इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मि गौंतमले तालाबन्दी गरिदिएकी छन् ।
इटहरी ४ मा कम्पनी रजिष्टार कार्यालयमा मात्र दर्ता गरि तीन बर्षअघिबाट संचालनमा रहेको सो पोलिक्लिनिक अबैध रुपमा संचालन हुदै आएको थियो । संचालक झाले फार्मेसी मात्र संचालन गरेको पटक पटक दावी गरेपनि विराट पाथीभरा पोलिक्लिनिक बोर्ड नै राखेर अस्पताल संचालन गर्दै आएका थिए । आज औषधी व्यवस्था विभाग , इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी , नगरप्रहरी सहितको टोलीले अनुगमनका क्रममा विना दर्ता विराट पाथीभरा पोलिक्लिनिक संचालन गरेको पाइएकाले तालाबन्दी गरिएको हो ।
संचालक झाले केही महिना अघि आफ्नो विराट पाथीभरा पोलिक्लिनिक १५ बेड सहितको दर्ता रहेको भन्दै सुनिल शर्मा आर्चायलाई ढाटेर बिक्री गर्न खोजेका थिए । आफुपनि २५ प्रतिशत शेयर रहने गरि उनले बिक्रीका लागि आर्चायसंग कागज पनि गरेका थिए । आर्चायले कागज गरेको केही समयमै झाले आफुलाई ढाटेर दर्ता विनाको विराट पाथीभरा पोलिक्लिनिक बिक्री गर्न खोजेको चाल पाएपछि छाडिदिएका थिए ।
विराट पाथीभरा पोलिक्लिनिक दर्ता नभएको चालपाएपछि आर्चायले पूर्वाधार लगायतको मापदण्ड पुगे संचालन गर्ने सोचका साथ कम्पनी रजिष्टार कार्यालयमा दर्ता गरि अनुमतिका लागि इटहरी उपमहानगरकै स्वास्थ्य शाखामै फायल पेश गरेका थिए । तर, उपमहानगरको स्वास्थ्य शाखाले पूर्वाधार नपुग्ने बताएपछि आर्चायले तत्कालै पूर्व संचालक झा र घरधनीलाई जानकारी दिई आफुहरु अबका मितिबाट अस्पताल नआउने भन्दै छाडिएका थिए ।

आर्चायले आफुहरुलाई १५ बेडको दर्ता भएको अस्पताल भनि झाले ठगि गरि बिक्री गरेको र आफुहरु झाबाट ठगिनुका साथै अनावश्यक रुपमा प्रताडित भएको जनाउ दिदै इटहरी उपमहानगरपालिकाको न्यायिक समितिमा उजुरी समेत दर्ता गराएका थिए । आर्चायका अनुसार कोशी पाथीभरा कम्पनीमा मात्रै दर्ता गरिएको र यसको नाममा कुनै पनि कारोवार नै गरिएको छैन् ।
विराट पाथीभरा पोलिक्लिनिकमा रहेको फार्मेसीमा लाइसेन्स नभएका पढ्दै गरेका व्यक्ति बस्दै आएका थिए । अनुगमनका क्रममा सो पोलिक्लिनिकबाट म्याद गुज्रिएका केही औषधी पनि बरामद गरिएको छ । विराट पाथीभरा पोलिक्लिनिक संचालक संजय झाले तीन बर्षअघिबाट आफुले फार्मेसी मात्र संचालन गरेको दावी गरेका छ्न् । उनले विराट पाथीभरा पोलिक्लिनिक दर्ताको प्रकृयामा रहेको बताउँदै आएका छन् । तर उनले अस्पताललाई आवश्यक पर्ने सबै सामाग्री राख्नुका साथै विराट पाथीभरा पोलिक्लिनिक बोर्ड राखेर अस्पताल नै संचालन गर्दै आएका थिए । विराट पाथीभरा पोलिक्लिनिकमा कार्यरत केही कर्मचारीहरुले आफुहरुले काम गरेको ८ महिनाको तलब नपाएको भन्दै केही दिनअघि श्रम कार्यालय विराटनगर र इटहरी उपमहानगरपालिका वडा नम्बर ४ कार्यालयमा निवेदन दर्ता गराएका थिए । उनिहरुले आर्चायले तलब दिनु पर्ने दावी गरेका छन् । तर कोशी पाथीभराको नामबाट अस्पताल संचालन पनि नभएको र कर्मचारीलाई कुनै प्रकारको नियुक्ती नगरेको आर्चायले बताएका छन् ।