इटहरीः कोरोना भाइरस परीक्षणका लागि प्रदेश १ सरकारद्वारा सञ्चालित प्रदेश जनस्वास्थ्य प्रयोगशालाले परीक्षणका लागि आउने स्वाब बुझ्न अस्वीकार गरेको छ ।

प्राविधिकमा कोरोना संक्रमण बढेकाले परीक्षण प्रभावित भएको भन्दै केही दिनका लागि स्वाब लिने कार्य स्थगित गरेको प्रयोगशाला प्रमुख जयवेन्द्र यादवको भनाइ छ । यादवका अनुसार कार्यालयमा कार्यरत तीन जना प्राविधिक र एक जना कर्मचारी संक्रमित भएपछि कार्यालयको काम प्रभावित हुँदा स्वाब लिन नसकिएको हो । प्रयोगशालामा पहिले नै संकलन गरिएका ६ सय स्वाबको परीक्षण सम्पन्न नभएकाले सोको परीक्षणपछि मात्र नयाँ स्वाब लिन सकिने उनको भनाई छ ।

कार्यालयमा हाल काजमा खटिएका ६ जनासहित १३ जना प्राविधिक कार्यरत रहेको उनले बताए । दुई ओटा मेसिनबाट स्वाब परीक्षण गरिरहेको प्रयोगशालामा दैनिक प्रदेशभरका एक हजार पाँच सयसम्म स्वाब आउने गरेको छ । प्रयोगशाला प्रमुख यादवले कोरोना संक्रमणलाई नियन्त्रण गर्न सावधानी अपनाउनुको विकल्प नभएको भन्दै सुरक्षित भएर चाडपर्व मनाउन सर्वसाधारणलाई आग्रह गरे ।