इटहरीः मोरङको विराटनगर महानगरपालिकामा कोरोना भाइरसको स्वाब संकलन कार्य बन्द भएको छ ।

महानगरपालिकाले जारी गरेको सूचना अनुसार आज बिहीबारदेखि कात्तिक १२ गतेसम्म स्वाब संकलनको कार्य स्थगित भएको छ । महानगरले परीक्षणका लागि संकलित स्वाब कोसी अस्पतालमा पठाउने गरेकोमा अस्पताल दसैँको अवधिमा बन्द हुने भएकाले महानगरले स्वाब संकलन बन्द गरेको महानगरपालिकाका जनस्वास्थ्य संयोजक दीलिपकुमार यादवले बताए । कोसी अस्पतालमा नवमीदेखि तीन दिनसम्म बिदा हुने जानकारी दिँदै अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.चुमनलाल दासले बिदा नभएसम्म यसअघि संकलित स्वाबको परीक्षण गरिने बताए ।

कोरोनाको संक्रमण जताततै फैलिएर मुलुक आक्रान्त बनेको अवस्थामा स्वाब संकलन र परीक्षणको काम बन्द गरिनु दुःखद् भएको बताउँदै उपभोक्ता अधिकारकर्मी उत्तम ढुङ्गेलले कर्मचारीको अभाव देखाएर स्वाब संकलन तथा परीक्षण बन्द गर्ने अस्पताल र महानगरको रबैयाका कारण नागरिक समस्यामा पर्ने उल्लेख गरे । निजी अस्पतालमा महङ्गो शुल्क तिर्ने अवस्था सर्वसाधारण नागरिकको नभएकाले सरकारी अस्पतालले सेवा बन्द गर्दा संक्रमणको पहिचान हुन नसकी ज्यान जानुका साथै संक्रमणदर भयावह अवस्थामा पुग्ने उनको कथन छ ।