इटहरीः मोरङको विराटनगर महानगरपालिकाले सडक क्षेत्रमा फोहोर फाल्नेलाई कारबाही गर्न सुरु गरेको छ ।
फोहोरमैला व्यवस्थापन ऐन २०६८ बमोजिम महानगरले कारबाही सुरु गरेको हो । महानगरपालिका क्षेत्रमा वेस्ट म्यानिजमेन्ट ग्रुप नेपाल प्रा.लि., फोहर मैला व्यवस्थापन परियोजना विराटनगरले फोहोर व्यवस्थापन गर्दै आएको छ । वेस्ट म्यानेजमेन्ट ग्रुप नेपालका फोहोरमैला परियोजना प्रमुख देवी आचार्यले सडकमा फोहोर फाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्न कारबाही थालिएको बताए । आचार्यले भने,‘विराटनगरको बजार क्षेत्रमा सडकमै फोहर फाल्ने काम भइरहेको छ,सकडमा फोहर फाल्ने व्यक्तिको पहिचान गरी कारबाहीको दायरामा ल्याउने प्रकृया सुरु गरिएको छ ।’ सडकमा फोहोर फाल्ने जोकोहीलाई ऐन अनुसार कारबाही हुने उनको जिकीर छ ।
गएको एक हप्ता अघिदेखि महानगरपालिका क्षेत्रमा सन्ध्याकालीन समयमा पनि फोहोर संकलनको काम हुन थालेको छ । विराटनगर महानगरपालिका र वेस्ट मेनेजमेन्ट ग्रुप नेपालको सहकार्यमा चाडपर्वमा फोहोर उत्सर्जन बढी हुने अवस्थालाई मध्यनजर गर्दै सन्ध्याकालीन संकलन सेवा सुरु गरिएको आचार्यको भनाइ छ । रोडशेष चौकदेखि मेनरोड हुँदै पानी ट्याङकीसम्मको सडकबाट नियमित रुपमा साँझमा पनि फोहर संकलन गर्ने काम भइरहेको बताउँदै उनले काम प्रभावकारी भएकाले सबै क्षेत्रमा सेवा विस्तारको योजना रहेको उल्लेख गरे । प्रत्येक दिन तीन चरणमा हुने संकलनबाट महानगरमा दैनिक ६५ देखि ९० टनसम्म फोहोर संकलन गरिरहेको परियोजनाले जनाएको छ ।
महानगरसँग सम्झौता गरी २०७३ साल जेठ १ गतेदेखि फोहोर संकलन सुरु गरेको वेस्ट मेनेजमेन्टले दुई सय ४० जना जनशक्तिका साथ २५ ट्याक्टर र २५ टाइसाइकलको सहयोगमा कार्यसम्पादन गर्दै आएको छ । फोहोर संकलनको कार्यबापत वेस्ट मेनेजमेन्टले महानगरबाट मासिक ११ लाख ४० हजार रुपैयाँ असुल गर्ने गर्छ । यसका अतिरिक्त प्रतिपसल न्यूनतम तीन सय रुपैयाँ, प्रति साधारण घर दुई सय र विशेष सेवाका लागि प्रति घर पाँच सय रुपैयाँ सेवा शुल्क परियोजनाले लिने गरेको छ ।