इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले धरौटी लिएर मात्र कोरोना संक्रमितको उपचार सुरु गर्ने भएको छ ।
प्रतिष्ठानले जारी गरेको सूचना अनुसार उपचारका भर्ना हुने कुनै पनि लक्षण नभएका बिरामीले सात हजार, हल्का लक्षण भएकाले १२ हजार, मध्यम लक्षण भएकाले ३५ हजार र गम्भीर लक्षण भएकाले ६० हजार रुपैयाँ धरौटी जम्मा गर्नुपर्ने भएको छ ।
यसैगरी, प्रतिष्ठानले कोरोना संक्रमितको दैनिक उपचार खर्चको विवरणसमेत सार्वजनिक गरेको छ । प्रतिष्ठानले सार्वजनिक गरेको विवरण अनुसार लक्षण नभएका बिरामीले दैनिक दुई हजार, हल्का लक्षण भएका बिरामीले दैनिक तीन हजार पाँच सय, मध्यम लक्षण भएका बिरामीले दैनिक सात हजार पाँच सय र गम्भीर लक्षण देखिएका बिरामीले दैनिक १५ हजार रुपैयाँ उपचार खर्च बुझाउनुपर्ने भएको छ । यो नियम आगामी कात्तिक ९ गतेबाट प्रारम्भ हुने प्रतिष्ठानको भनाइ छ ।