इटहरीः मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आज शुक्रबार बिहान दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा सुनसरीको धरान उपमहानगरपालिका ८ घर भएकी ५९ वर्षीया महिला र मोरङको बेलबारी नगरपालिका ११ घर भएका ४२ वर्षीय पुरुष रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । उनका अनुसार धरानकी महिला असोज २९ गते नोबेल अस्पताल भर्ना भई सोही दिन संक्रमण पुष्टि भएपछि आइसोलेसनमा उपचाररत रहेकोमा उनको आज बिहान करिब ४ बजे ज्यान गएको हो ।
स्वासप्रस्वासको समस्याका कारण अस्पताल भर्ना भएकी महिला लामो समयदेखि मधुमेहबाट समेत ग्रस्त रहेको प्रबन्धक दाहालको भनाइ छ । यसैगरी, बेलबारीका पुरुष कात्तिक ५ गते अस्पताल भर्ना भएकोमा सोही दिन संक्रमण पुष्टि भई अस्पतालको आइसोलेसनमा उपचाररत रहेका उनको आज बिहान ३ बजे ज्यान गएको हो । उनी लामो समयदेखि फोक्सो र मृगौलाको समस्याबाट पीडित रहेको प्रबन्धक दाहालको भनाइ छ ।