इटहरीः नेपाली सेनाले मोरङको मिक्लाजुङ गाउँपालिकास्थित टाडीमा रहेको शव व्यवस्थापन टोलीलाई स्थानान्तरण गरी विराटनगरमा ल्याएको छ ।

विराटनगरमा स्थानान्तरण गरिएको टोली हिजो बिहीबारदेखि अतिथि सदनमा रहेको क्वारेन्टाइनमा बस्न सुरु गरेको छ । मोरङको सबैभन्दा बढी संक्रमण प्रभावित क्षेत्र विराटनगरमा सेनाको शव व्यवस्थापन टोली खटिएपछि संक्रमणबाट ज्यान गुमाउनेको शव व्यवस्थापनमा सहजता आउने भएको छ ।

सेनाको शव व्यवस्थापन टोली विराटनगरमा बस्न थालेपछि संक्रमितको शव व्यवस्थापन गर्न सहज भएको नेपाली सेनाको थलाहा गणका गणपति महेश बाटाको भनाइ छ । क्वारेन्टान टाढा हुँदा शव व्यवस्थापनमा समय बढी लाग्न थालेपछि जिल्ला सुरक्षा समितिले यस अघि विराटनगरमा क्वारेन्टाइनको व्यवस्थापन गर्न प्रदेश सरकारलाई आग्रह गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।