इटहरीः मोरङको पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा उपमेयरसहित ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरुमा उपमेयरका साथै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, जनप्रतिनिधि तथा कर्मचारीहरु रहेका छन् । सात दिनअघि स्वाब संकलन गरी परीक्षणका लागि कोसी अस्पताल पठाइएकोमा उपमेयर यमुना विष्ट वास्तोला सहितका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, नगर प्रहरी, पत्रकार तथा सर्वसाधारण गरी ३८ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

एक सय १५ जनाको स्वाब परीक्षण गर्दा यसअघि नौ जना संक्रमित देखिएकोमा हाल ३८ जनामा संक्रमण देखिएको शाखाको भनाइ छ । आजको रिपोर्टमा वडा नम्वर १ मा १४ पुरुष र ४ महिला, २ मा ३ पुरुष, ३ मा १ महिला १ पुरुष, ४ मा ४ पुरुष, ५ मा १ महिला, ७ मा १ महिला एक पुरुष, ९ मा ३ महिला १ पुरुष र १० मा २ पुरुष र १ महिलामा संक्रमण देखिएको हो ।

संक्रमितमध्ये एक जना कानेपोखरीका रहेका छन् । असोज ३० गतेदेखि संक्रमणका कारण स्थानीय तह तथा स्वास्थ्य संस्थाहरुको सेवा बन्द गरिएको छ । संक्रमणको बढ्दो दरलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सावधानी अपनाउन मेयर दिलीपकुमार राईले सर्वसाधारणमा अनुरोध गरेका छन् ।