इटहरीः सुन्दर दुलारी उद्योग बाणिज्य संघको आयोजनामा गछियामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रगत अभाव भएपछि गछियामा रक्तदान गरिएको हो । शुक्रबार जिल्ला रेडक्रस सोसाइटी सुनसरीको सहयोगमा गछियामा रक्तदान आयोजना गरिएको हो । संघका अध्यक्ष किशोर कार्कीले चाडबाडको समयमा अस्पतालहरुमा रगतको अभाव भएको थाहा पाएपछि रक्तदान गरिएको जानकारी दिए । उनले संघले व्यवसायीको हितसँगै अन्य सामाजिक काम पनि गर्दै आएको र सोही अनुरुप रक्तदान गरिएको बताए ।
ब्लड बैँकका इन्चार्ज सुवास चन्द्र सिङले रगत अभाव हुन नदिन विभिन्न संघसंस्थालाई कार्यक्रम गर्न अनुरोध गर्दै आएको जाकारी दिए । उनले पछिल्लो समय कोरोना उपचारका लागि आवस्य प्लाज्मा बनाउँदा पनि रगत चाहिने भएकाले रक्तदान आवश्यक रहेको बताए ।
सुन्दरहरैँचा नगरपालिका बडा नम्बर ३ गछियाका वडाध्यक्ष जिवन प्रसाद ढुङ्गानाले कोरोना भाइरसले गर्दा रक्तदान कम हुँदै आएको समयमा उद्योग बाणिज्य संघले रक्तदान गरेकोमा खुसी ब्यक्त गरे । साथै उनले विभिन्न अस्पतालमा रगत अभाव भएको जानकारी पाएकाले रक्तदान गरिएको जानकारी दिए ।
सुन्दरहरैँचा नगरपालिका ३ गछियामा आयोजना गरिएको रक्तदानमा विभिन्न संघसंस्था र व्यक्तिहरुले रगत दिएका छन् । उद्योग बाणिज्य संघका अनुसार त्यहाँ ३५ पिन्ट रगत संकलन गरिएको छ । संकलन भएको रगत जिल्ला रेडक्रस सोसाइटी सुनसरी मार्फत् अभाव भएका अस्पतालमा वितरण गरिने छ ।