विराटनगरःधनकुटामा लकडाउनयता संकटमा परेका ३२६ व्यापारीलाई घरधनीले घरभाडा छुट गरिदिएका छन् ।कोरोना महामारी र त्यसपछि सरकारले घोषणा गरेको लकडाउनको कारण व्यापार व्यवसाय बन्द भई व्यवसायी संकटमा परेका थिए । तर, धनकुटाका मनकारी घरधनीले व्यापारी तथा व्यवसायीको व्यापार नभएको समय गणना गरी घरभाडा छुट गरिदिएका हुन् ।
समस्यामा परेका व्यवसायीहरु पलायान हुने अवस्था नहोस् भनेर धनकुटा उद्योग वाणिज्य संघले घरधनीहरुसँग छलफल गरी घरभाडा छुट गर्न समन्वय गरेको हो । संघका अध्यक्ष विजयसन्तोषी राईले लकडाउनले संकटमा परेका व्यापारी व्यवसायीलाई व्यापारमा भएको र घाटाबीच थप आर्थिक भार नहोस् भनेर समन्वय गरिएको बताए । उनले भने, “हामीले घरधनीहरुलाई समन्वय गरी अहिलेसम्म ३२६ जना व्यवसायीलाई घरभाडा छुट गराएका छौं । छुट दिने घरधनीलाई संघका तर्फबाट सम्मान पनि गर्दै आएका छौं ।” अध्यक्ष राईले कोरोना महामारीका कारण बजार खुले पनि अझै व्यापारले लय लिन नसकेको सुनाए ।

संघले धनकुटा नगरपालिका ५ की समाजसेवी तथा अभियान्त रेणु श्रेष्ठले आफ्नो दुईवटा घर भाडामा लगाएकोमा भाडा छुट गरिदिएकी छन् । उनलाई धनकुटा उद्योग वाणिज्य संघले सम्मान गरेको छ । पछिल्लोपटक श्रेष्ठले धनकुटा नगरपालिका वडा ५ माथिल्लो कोप्चेमा अवस्थित दुईवटा घरमा एक-एक महिनाको बहाल छुट गरिदिएको धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष राईले बताए ।

धनकुटाको व्यस्त हिले बजारका व्यवसायीलाई पनि भाडा छुट गराउन संघले पहल लिएको र हालसम्म ८४ जना घरधनीले घरभाडा छुट गरेको संघका महासचिव रामबहादुर गोङ्वा तामाङले जानकारी दिए । पर्यटकीय तथा व्यापारिक बजार हिलेमा कोरोना संकटका कारण व्यापार व्यवसाय प्रभावित बन्दै गएको छ ।

धनकुटा उद्योग वाणिज्य संघले धनकुटामा कोरोना कहरबीच सामाजिक काममा समेत सक्रियता जनाएको छ । कोरोना संक्रमणपछि उपचारमा रहेका त्यहाँको आइसोलेसनमा गुर्जो, खाजा र पानी सहयोग गरेको छ । संघका अध्यक्ष राई भन्छन्, “हामीले नगरपालिकासँग समन्वय गरी स्यानिटाइजर, मास्क र अन्य सामग्रीसमेत वितरण गर्दै आएका छौं ।” पहाडी जिल्ला धनकुटामा हालसम्म ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।-बाह्रखरीबाट