इटहरीः कोरोना संक्रमण भई अस्पतालमा उपचार गराईरहेका सुनसरीका दुई पत्रकारका पीताको निधन भएको छ । इटहरी स्थायी घर भई काठमाण्डौंमा बसेर लामो समयदेखि पत्रकारीता गरिरहेका पत्रकार दिवस गुरागाईका पीता ७० बर्षीय दीनानाथ गुरागाईको उपचारका क्रममा विराटनगर स्थित नोबेल अस्पतालमा गए राती १ बजे निधन भएको हो । पीता दीनानाथलाई दुई साताअघि मात्र कोरोना संक्रमण भएको थियो । उनको नोबेलको कोभिड वार्डमा उपचार भईरहेको थियो ।
उपचारका क्रममा अक्सिजनको कमी भएपछि हिजो मात्रै उनमा प्लाजमा थेरापी समेत गरिएको थियो । प्लाजमा थेरापी गर्दा समेत स्वास्थ्य सुधार नआएपछि राती १ बजे निधन भएको हो । दीनानाथको शब स्वास्थ्य मापदण्ड अपनाएर परिवारको जिम्मा दिने तयारी थालिएको छ । स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर दीनानाथको इटहरी स्थित गंगा जमुना मुक्ति घाटमा अहिले बिहान ११ बजे दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । दीनानाथ अवकाश प्राप्त शिक्षक हुन् ।
उता इनरुवामा पत्रकार पीएमणि भट्टराईका पीता ८७ वर्षीय हरिनाथको गए राति नै कोशी अञ्चलको कोभिड अस्पताल विराटनगरमा उपचारका क्रममा निधन भएको छ । उनको उपचारका लागि शुरुवातमा नोवेल अस्पताल भर्ना गरेपनि कोरोना पुष्टि भएपछि शुल्क महंगो भएकैले गर्दा कोशीको कोभिड अस्पतालमा भर्ना गर्नु परेको थियो । हरिनाथको केही बेरमा अस्पतालले परिवारलाई शव जिम्मा लगाएपछि सुनसरी खोलामा दाहसंस्कार गरिने पत्रकार महासंघ सुनसरीका अध्यक्ष अम्मर खड्काले जनाएका छन् ।