इटहरीः भारत देहरादूतस्थित शाक्य गुम्बाले सञ्चालन गर्दै आएको बोर्डिङ स्कूलबाट घर फर्किन खोज्ने ५१ नेपाली विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ । कुटपिटमा परेकामध्ये ४२ जना घाइते भएकाा छन् ।

अभिभावकले घाइते विद्यार्थीलाई सकुशल स्वदेश फिर्ता गराइदिन सरकारसँग माग गरेका छन् । ‘खानेबस्ने राम्रो व्यवस्था नभएपछि बच्चाहरू घर फर्किन निवेदन लिएर प्रिन्सीपल कहाँ पुगेका रहेछन्’ कुटाइ खाने विद्यार्थी निमा शेर्पाका बुबा ग्याल्जेन शेर्पाले भने, ‘एक्कासी स्कूलका अध्यक्ष लामा आएर कुटपिट गरेछन् । शरीरभरी निलडाम भएको छ ।’

उनका दुई छोरा १७ वर्षीय निमा र १३ वर्षीय सोनाम चार वर्षदेखि त्यहाँ छन् । उनका भाइका दुई छोरा पनि त्यही बसेर पढ्छन । तीमध्ये पस्टेम्पा शेर्पा नराम्ररी बिरामी परे । उनको मानसिक सन्तुलनसमेत बिग्रियो । गुम्बा र स्कूलले उनको उपचार नगरेर घर फर्काइदियो । घर फर्केर उपचारपछि अहिले उनको स्थिति सामान्य बन्दैछ ।

गुम्बाले सञ्चालन गरेको सो शाक्य एकेडमी बोर्डिङ स्कूलमा नेपालका बाग्लुङ, रुकुम, जुम्ला, हुम्ला, सिन्धुपाल्चोक, रामेछापलगायतका जिल्लाबाट ६९ विद्यार्थी अध्ययनरत थिए । ‘आर्थिक स्थिति कमजोर छ । त्यसमाथि भुकम्पले घर भत्कियो । निशुल्क बोर्डिङ स्कूल पढाउने लोभमा छोराहरुलाई देहरादून पठाएँ । अहिले यस्तो भयो’ ग्याल्जेनले भने ।
गुम्बाको सो स्कूलमा राम्रो व्यवहार नभएपछि केही समयअघि मात्र १८ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका थिए । अरू पनि घर फर्किन चाहेपछि गुम्बा व्यवस्थापनले कडाई गरेको थियो । विद्यार्थीलाई घर परिवारसँग सम्पर्क गर्नसमेत दिइएन । काभ्रेका एक शिक्षक त्यहाँ पढाउँछन्, उनको समेत मोबाइल खोसिएको छ ।

काठमाडौंको बौद्धस्थित आनी गुम्बासम्म सो खबर आएपछि विद्यार्थीका अभिभावकले सरकारसँग उद्दारका लागि आग्रह गरेका छन् ।राष्ट्रिय मानवअधिकार आयोगका निवर्तमान सदस्य मोहना अन्सारीले ती विद्यार्थीको उद्दारका लागि आग्रह गर्दै गरेको ट्विटमा नयाँ दिल्लीस्थित नेपाली राजदून निलाम्बर आचार्यले ‘दूतावासले खोजखबर लिन्छ’ भन्ने प्रतिक्रिया दिएकी छन् । त्यस्तै, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सत्यतथ्य बुझ्ने प्रक्रिया सुरु भइसकेको जनाएका छन् । शिलापत्रबाट