विराटनगरः नेपाली कांग्रेस विराटनगर महानगर समितिले कोरोना संक्रमितलाई निजी अस्पतालमा उपचार गर्न भर्नापूर्व नै लिइने शुल्क महंगो भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेसले महंगो शुल्क घटाउन सरकारसंग माग गरेको हो ।
कांग्रेसले आईसियू र भेन्टिलेटरमा पुग्ने बिरामीलाई चलाइने रेम्डेसिभिर नामक औषधि सरकारले निःशुल्क रुपमा प्राप्त गर्ने गरेकोले त्यसलाई निजी अस्पतालहरु उपचार गर्ने बिरामीलाई समेत निःशुल्क दिन माग गरेको छ ।
विराटनगरमा आज गरिएको पत्रकार सम्मेलनमा विराटनगर कांग्रेसका कार्यवाहक सभापति अरुण न्यौपानेले आईसियू र भेन्टिलेटरको सुविधा भएका अस्पतालको शुल्क थेगिनसक्नुको भएको बताउँदै भने,“सरकारले निःशुल्क उपचार गराउन नसकेपनि निजी अस्पतालमा जाने बिरामीका आफन्तले धान्न सक्ने शुल्क तोकिनु पर्छ ।” आईसियूमै दैनिक रु। ३५ हजार र भेन्टिलेटर शुल्क रु। ५० हजार तिर्न सर्वसाधारणलाई निक्कै कठिन भएको न्यौपानेको भनाइ छ ।
सरकारले निःशुल्क उपचार गर्न नसकेपनि अति आवश्यक पर्ने औषधि जस्तै रेम्डेसिभिरको सहज रुपमा उपलब्ध गराउनु पर्छ । यो परीक्षणको औषधि भएपनि अहिले एक भाईलकै रु। २० हजार रुपैयाँसम्म कालोबजार भईरहेको बताए ।
कांग्रेस सचिव प्रकाश दाहालले कोरोनाको बढ्दो संक्रमणका कारण विराटनगरमै सर्वसाधारणलाई सरकारी अस्पतालमा उपचार सेवा पाउन कठिन भएको बताउँदै भने,“सरकारीमा जाउँ ठाउँ छैन निजीमा जाउँ शुल्क धान्न सकिदैन ।कसरी रोगबाट बच्ने अनि उपचार लिने भन्नेमा जनतालाई त्राहीमाम भएको छ ।”
विराटनगरका कांग्रेसका कार्यवाहक सभापति अरुण न्यौपाने र सचिव प्रकाश दाहालले जारी गरेको विज्ञप्तिमा अस्पताल भर्ना हुने बेलामा बिरामीसंग एडभान्स माग गर्ने अस्पताललाई कार्वाही गर्न, निजी अस्पताल र मेडिकल कलेजले लिने शुल्क हटाउन र कोभिड १९ का बिरामीको उपचारमा भईरहेको लापरवाहीको विषयमा सर्वसाधारणबाट समेत गुनासो आउन थालेकोले सरकारले निजी अस्पताल तथा मेडिकल कलेजको अनुगमन गर्न माग गरिएको छ ।