इटहरीः नेपालमा नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १७ जनाको मृत्यु भएको हो ।
बुधबार देशभर ११ जनाको मृत्यु भएको थियो भने मंगलबार १४ र सोमबार १५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । आइतबार कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको थिए भने शनिबार देशभर कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको थियो । गत साता देशभर संक्रमणबाट ११५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यसैबीच देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ३६४ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ३६३ संक्रमित थपिएका हुन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ रहेको छ ।
पछिल्लो २४ घण्टामा तीन हजार ३८ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख २४ हजार ८६२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७५ दशमलव ५ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार ७६९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १४ लाख १९ हजार ६४ जनाको पीसीआर परीक्षण गरिएको छ ।देशभरका संस्थागत आइसोलेसनमा ७ हजार ९४ जना र होम आइसोलेसनमा ३१ हजार ८९८ जना रहेका छन् । आजसम्म देशभर दुई हजार ६८९ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३०४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या एक लाख ६४ हजार ७१८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।