इटहरीः इटहरी उपमहानगरपालिकाकी उप–प्रमुख लक्ष्मी गौतमले चाडबाडको समयमा इटहरीमा बाहिरबाट आउनेले कोरोना संक्रमण फैल्याउने खतर भन्दा पनि इटहरीबाट कोरोना बाहिर जाने खतरा बढेको जानकारी दिइन् । प्रदेश पोर्टलसँगको टेलिफोन सम्बादमा उनले सो कुरा बताएकी हुन् । उनका अनुसार इटहरीमा नागरिक स्तरबाट लार्पबाही भएकाले घर घरमा कोरोना पुगेको बताइन् । ‘दशैँ पछि इटहरीको अवस्था भयावह बन्नै सक्दैन । किन भने अहिले नै इटहरीको अवस्था भयावह भइसक्यो । अहिले इटहरीमा घर घरमा कोरोना पुगिसक्यो यो भन्दा भयावहको अवस्था अरु के नै हुन्छ र ? त्यसैले इटहरीमा बाहिरबाट आउनेले कोरोना सार्छन भन्दा पनि इटहरीबाट बाहिर लैजन्छ भन्ने खतरा भयो’, उनले भनिन् ।


उनका अनुसार अहिले इटहरीमा विराटनगरमा भन्दा बढी जोखिम रहेको छ । साथै उनले नागरिक स्तरबाट चरम लार्पबाही भएकाले इटहरी यो स्थितिमा पुगेको बताइन् । ‘नागरिक स्तरबाट हेलचेकार्य भएर इटहरीको स्थिति यो अवस्था पुगेको हो । नगर स्तरबाट हामीले सकेसम्म कसरत गर्दा पनि नगरबासीले अवज्ञा गर्दा स्थिति भयावह भयो । बजार खोल्न नदिँदा भोकले मार्ने भए भन्नुभयो बजार खोल्दा स्वास्थ्य सुरक्षाको मापदण्ड नै पुरा गर्नुभएन । यसले इटहरीको आवस्था नजुक बनेको हो’, गौतमले भनिन् । साथै उनले उपमहानगरले बारम्बार अनुरोध गर्दा पनि नागरिकले नमानेपछि अनुगमन गरि कारबाही गरेको र त्यसले खासै प्रभाव नपारेका जानकारी दिइन् ।


गौतमले इटहरीबासीले स्वाव दिएपछि कोरोना छैन् भन्ने भ्रम मनमा पालेकाले पनि कोरोना बढेको बताइन् । ‘यहाँका अधिकांशले स्वाव दिनु भनेको कोरोना छैन भन्ने पुष्टि भएको सम्झनुभएको छ । उहाँहरु स्वाव दिनुहुन्छ अनि नेगेटिभ आए नआए पनि निर्वाद रुपमा हिँडडूल गर्ने गर्नुहुन्छ । यसले पनि जोखिम बढाएको छ । यदि हामीलाई कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखियो भने आफैँ आइसोलेट हुनुपर्ने हो तर नगरबासीले त्यसो गर्नुभएन । फलस्वरुप इटहरी कोरोना संक्रमणको आर्को इपिसेन्टर बन्ने देखिएको छ’, गौतमले भनिन् । साथै उनले कोरोना संक्रमितले पनि लापर्वाही गरेको आरोप लगाइन् ।


‘अर्को कुरा इटहरीमा कोरोना देखिएर होम आइसोलेसनमा बस्नेहरुले पनि कोरोना फैलाउन भूमिका खेल्नुभएको छ । कोरोना पोजेटिभ देखिएपछि उहाँहरुले हामी होम आइसोलेसनमा बस्छौँ भन्नुभयो । त्यसपछि हामीले स्वास्थ्य मापदण्ड पुरा गरेर होम आइसोलेसनमै राखेँ । तर उहाँहरु होम आइसोलेसनमा बस्दा परिवारका सदस्यसँग घुलमिल गर्ने, आइसोलेसनमा बसेको ४÷५ दिनमै आफ्नो काममा जाने, स्वास्थ्य मापदण्ड नै पुरा नगर्ने गरेपछि हामी यो अवस्थामा पुगेका हौँ’, गौतमले भनिन् । उनले इटहरीको स्थिति भयावह बन्नुमा नागरिककै हात रहेको बताइन् ।


गौतमले इटहरीमा स्वाव परिक्षण गराउने ९५ प्रतिशतलाई कोरोना देखिने गरेकाले परिक्षणको कुनै औचित्य नरहेको जानकारी दिइन् । ‘मेरो विचारमा इटहरीमा कोरोना परिक्षण गर्नुको कुनै अर्थ छैन् । ५८ जनाको कोरोना परिक्षण गर्दा ५४ जनालाई कोरोना देखिन थालेका छ यो अवस्थामा इटहरीका अधिकांशमा कोरोना हुनसक्ने आशंका छ । अब हामीले कोरोनासँग मिल्दो लक्षण देखियो भने आफैँ सुरक्षित हुनुको विकल्प छैन्’, उनले भनिन् । साथै उप–प्रमुख गौतमले दशैँपछि पुनः इटहरीको बजार अनुगमनलाई निरन्तरता दिइने बताइन् ।