इटहरीः मोरङको विराटनगरमा हिजो बिहीबार पाँच जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

महानगरका तीन अस्पतालमा उपचाररत तीन पुरुष र दुई महिलाको संक्रमणकै कारण ज्यान गएकाृे हो । मृतकमध्ये एक पुरुषको कोसी अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रमा र एक पुरुष र एक महिला गरी दुई जनाको विराट नर्सिङ होममा ज्यान गएको हो । यसैगरी, न्युरो अस्पतालमा पनि एक महिला र एक पुरुष संक्रमितको उपचारका क्रममा ज्यान गएको छ । विराट नर्सिङ होम प्रशासनका अनुसार कात्तिक ५ गते भर्ना भई ९ गते संक्रमण पुष्टि भएकी सुनसरीको धरान उपमहानगरपालिका–१२ की ७५ वर्षीया महिलाको बिहीबार दिउँसो ज्यान गएको हो ।

यसैगरी, सोही अस्पतालमा कात्तिक ११ गते भर्ना भई १२ गते संक्रमित देखिएका सप्तरीको महुली ५ घर भएका ६० वर्षीय पुरुषको पनि सोही दिन दिउँसो ज्यान गएको अस्पताल स्रोतको भनाइ छ । मृतक दुवै स्वासप्रस्वासको समस्याबाट पीडित थिए ।यसैगरी, न्युरो अस्पतालका फोकल पर्सन अजित बस्नेतले सो अस्पतालमा विराटनगर महानगरपालिका– ७ घर भएकी ४५ वर्षीया महिलाको बुधबार राति ज्यान गएको बताएका छन् । उनका अनुसार कात्तिक ६ गते संक्रमण देखिएपछि ती महिला भोलिपल्ट न्युरोमा भर्ना भएकी थिइन् ।

यसैगरी, असोज २९ गते संक्रमण पुष्टि भई सोही अस्पतालमा कात्तिक ३ गते भर्ना भएका ६५ वर्षीय पुरुषको बिहीबार दिउँसो करिब २ बजे ज्यान गएको फोकल पर्सन बस्नेतको भनाइ छ । यसैगरी, कोसी अस्पतालको कोभिड उपचार केन्द्रमा बुधबार बेलुका भर्ना भएका झापाको कन्काई नगरपालिका ३ घर भएका संक्रमित पुरुषको बिहीबार राति ज्यान गएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए ।