इटहरीः प्रदेश १ मा मात्रै ७० जना पत्रकारलाई कोरोना संक्रमण भएको छ। पछिल्लो समय समुदायस्तरमा कोरोना फैलिएसँगै फिल्डमा पुगेर रिपोर्टिङ गर्ने पत्रकारहरुमा पनि धमाधम संक्रमण देखिन थालेको छ।

केही पत्रकारहरुमा लक्षणसहितको संक्रमण पनि देखिएको छ। प्रदेश १ मा सबैभन्दा धेरै पत्रकार मोरङ, सुनसरी र झापामा संक्रमित भएका छन्। संक्रमण पुष्टि भएकामध्ये मोरङका १० जनासहित प्रदेश १ का २९ जनाको आइसोलेसन र अस्पतालमा उपचार भइरहेको छ।

नेपाल पत्रकार महासंघ प्रदेश १ कमिटी अध्यक्ष विक्रम लुइँटेलले समुदायमा कोरोना फैलिएसँगै पत्रकारहरु पनि उच्च जोखिमा परेको जानकारी दिए। अध्यक्ष लुइँटेलका अनुसार सबैभन्दा धेरै सुनसरीका २९ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै मोरङका २७ जना पत्रकारमा संक्रमण पुष्टि भएको छ।

उता झापामा झापामा ६ जना पत्रकारमा कोरोना संक्रमण देखिएको छ। त्यसैगरी धनकुटा इलाम, ओखलढुंगा र उदयपुरमा समेत प्रदेश १ का ७० जनालाई कोरोना देखिएको हो।

कोरोना पुष्टि भएकामध्ये दुईजनालाई गम्भीर स्वास्थ्य समस्या देखिएको छ। जसमा एकजनालाई निमोनियासमेत भएर उपचार पनि घर फर्किएका छन्। अर्का एकजना पत्रकारलाई केही दिनअघि कोरोना पुष्टि भएसँगै निमोनिया पनि देखिएपछि अस्पतालमा उपचार चलिरहेको छ।

अस्पताल लैजान गाह्रो

प्रदेश १ मा कोरोनाको ग्राफ लगातार उकालो लागिरहेको छ। प्रदेश १ का मोरङ, सुनसरी र झापामा कोरोना तीव्र गतिमा फैलिँदै गएको छ। तराईका जिल्लासँगै अन्य पहाडी र भित्री मधेसका जिल्लामा पनि कोरोना फैलिँदै गएको छ।

पत्रकारहरुमा संक्रमण बढ्दै गएपछि उनीहरुको उपचारमा पनि समस्या देखिएको अध्यक्ष लुइँटेलले बताए। अक्सिजन चाहिने खालका पत्रकारलाई पनि अस्पताल पुर्‍याउन गाह्रो भएको छ। सोर्सफोर्स लगाउँदा उपचार पाउन कठिन छु, लुइँटेलले भने,-निजी अस्पतालले २० देखि ५० हजारसम्म धरौटी नराखी उपचार गरेका छैनन्। अस्पतालमा भर्ना भएका पत्रकारको उपचारमा छुटदेखि पिसिआर परीक्षणका लागि सहजीकरण गरिदिने काम गरिरहेको छ।

अध्यक्ष लुइँटेलका अनुसार कोरोना पुष्टि भएका पत्रकार कार्यरत सम्बन्धित जिल्ला शाखालाई अहिले सक्रिय बनाइएको छ। संक्रमित पत्रकारको उपचारमा सहजीकरणका लागि सम्बन्धित जिल्ला शाखाले आफैं पहल गरिरहेका छन्, उनले भने,-प्रदेश समितिले थप सहजीकरणको भूमिका खेलिरहेको छ। पत्रकार महासंघ केन्द्रले कोष बनाउने अभियान थालेको छ। प्रदेशमा कोष छैन। तर संकटमा परेका पत्रकार साथीहरुलाई फेलोसिप दिने काम पनि गरिरहेका छौं।

उपचार खर्च जुटाउन समस्या

लक्षणसहितका संक्रमित पत्रकारलाई उपचार खर्च जुटाउन गाह्रो भएको छ। एक लाख रुपैयाँको कोरोना बिमा गरे पनि त्यो रकम लिन एकदमै झन्झट रहेको अध्यक्ष लुइँटेलले बताए। गम्भीर बिरामी परेको अवस्थामा पत्रकार महासंघ केन्द्रको कोषबाट केही सहयोग हुन्छ। लक्षणसहितका संक्रमितको उपचारमा दुई लाख रुपैयाँ जति लाग्ने देखियोु, उनले भने,-प्रदेश १ का ९ सय जति पत्रकारको कोरोना बिमा छ। केही साथीहरुले बिमाको पैसा लिइसकेका छन्। तर पछिल्लो समय संक्रमण देखिएका साथीहरुले बिमाको पैसा लिन अनेक झन्झट भोग्नु परेको छ।

अध्यक्ष लुइँटेल जनतालाई सुसूचित गराउने जिम्मेवारीसँगै पत्रकारले उच्च स्वास्थ्य सतर्कता अपनाउनुपर्ने बताउँछन्। सूचना संकलनसँगै आफ्नो सुरक्षामा पत्रकारले चनाखो हुनुपर्छ। लक्षणसहितका बिरामी देखिएका पत्रकारहरू सचेत नभए गाह्रो अवस्था आउँछु, उनले भने,-लक्षण देखिएमा पत्रकारहरुलाई जिल्ला शाखाले सहयोग गरिरहेका छन्। त्यसमा प्रदेश र केन्द्रले पनि सहजीकरणसँगै उपचारमा सहयोग गर्छन्। अस्पतालमा उपचार खर्च नपुगे छुट तथा अन्य व्यवस्थापनमा महासंघले भूमिका खेल्छ। थाहाखबरबाट