इटहरीः मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पताल हिजो शुक्रबार झापाका एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा ज्यान गएको छ ।

मृत्यु हुनेमा झापाको शिवसताक्षी नगरपालिका–२ घर भएका ३८ वर्षीय दयाराम भट्टराई रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । उनका अनुसार कुनै दीर्घरोग नभएका भट्टराई कात्तिक १२ गते अस्पताल भर्ना भएकोमा सोही दिन कोरोना संक्रमित देखिएका उनको निमोनियाका कारण शुक्रबार बिहान ८ बजे ज्यान गएको हो । यसअघि गत असार १५ गते मृतक भट्टराईका कान्छा भाइ योगेश्वरको पनि कोरोना संक्रमणकै कारण कतारमा मृत्यु भएको अर्का भाई रविन भट्टराईले बताएका छन् ।

दृई वर्षअघि वैदेशिक रोजगारीका लागि कतार गएका उनको मृत्युपछि कतारमै दाहसँस्कार गरिएकाले परिवारले शवसमेत देख्न नपाएको भाइ रविनको दुखेसो छ । चार महिनाको अन्तरमा कोरोनाका कारण ज्यान गुमाउने दुवै दाजुभाइका पिता चुडामणीको २०७६ साल असार २७ गते ६३ वर्षको उमेरमा ज्यान गएकोमा लगातार दुई छोराको पनि मृत्यु भएपछि वार्षिकीसमेत रोकिएको छ । कान्छा छोराको मृत्युका कारण स्थगित भएको वार्षिकी आज शनिबारका लागि तय भएकोमा हिजो जेठा छोराको पनि ज्यान गएपछि पुनः स्थगित भएको छ ।