इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा आज शनिबार झापाका एक जना कोरोना संक्रमित पुरुषको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा झापाको गौरीगञ्ज घर भएका ७३ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले बताए । उनका अनुसार कात्तिक ६ गते संक्रमण देखिएपछि भोलिपल्ट कोभिड अस्पताल भर्ना गरी उपचार थालिएकोमा आज बिहान करिब ६ः४५ बजे उपचारका क्रममा उनको ज्यान गएको हो ।

मृतक लामो समयदेखि मुटुको समस्याबाट ग्रस्त रहेको उनको भनाइ छ । यससँगै झापाका कुल ११ जना संक्रमितले ज्यान गुमाएका छन् । झापामा कुल दुई हजार दुई सय ४० जना संक्रमित रहेकोमा एक हजार तीन सय १५ जना निको भई नौ सय १५ जनाको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।