इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले हालसम्म ८७ जना कोरोना संक्रमितलाई मृगौला डाइलासिस सेवा दिएको छ ।

मृगौलाको समस्याका कारण डाइलासिस गराउनुपर्ने अवस्थाका संक्रमितका लागि प्रतिष्ठानले आफ्नो डाइलासिस केन्द्रमा छुट्टै आइसोलेसन कक्ष सञ्चालनमा ल्याएको छ । डाइलासिस सेवा प्राप्त गर्नेहरुमा होम आइसोलेसन तथा संस्थागत आइसोलेसनमा रहेका संक्रमितहरु रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले बताए । प्राविधिक सामग्री व्यवस्थापनको जटिलता र पर्याप्त ठाउँको अभावका कारण कोभिड सेन्टरमा डाइलासिस गर्न नसकिएको उनको भनाइ छ ।

डाइलासिसका क्रममा सरकारद्वारा निर्धारित सबै स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने गरिएको श्रेष्ठले उल्लेख गरे । उनका अनुसार प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा हालसम्म नौ सय ९९ जना संक्रमित उपचारार्थ भर्ना भएकोमा आठ सय ४३ जना सफल उपचारपछि डिस्चार्ज भएका छन् भने ७८ जना संक्रमितले ज्यान गुमाएका छन् । हाल २३ जना संक्रमित आइसोलेसनमा रहँदा २५ जनाको अस्पतालमा उपचार जारी छ । आईसीयूमा उपचाररत संक्रमितको संख्या आठ जना रहेको छ । प्रतिष्ठानमा हाल दुई ओटा पोर्टेबलसहित ११ ओटा भेन्टिलेटर सञ्चालनमा रहेको प्रतिष्ठानले जनाएको छ ।