इटहरीः मोरङको विराटनगरका विभिन्न अस्पतालमा पछिल्लो २४ घन्टाको अवधिमा इटहरीका एक पुरुषसहित ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृतकहरुमध्ये चार जना नोबेल शिक्षण अस्पताल तथा विराट मेडिकल कलेज र म्याक्स अस्पतालका एक एक जना संक्रमित रहेका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका बस्ने ४३ वर्षीय संक्रमित पुरुषको उपचारार्थ नोबेल अस्पताल ल्याउने क्रममा हिजो शुक्रबार एम्बुलेन्सभित्रै ज्यान गएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । यसैगरी, सोही अस्पतालमा गत कात्तिक १२ गते भर्ना भई सोही दिन संक्रमित देखिएका झापाको बिर्तामोड नगरपालिका घर भएका ७५ वर्षीय पुरुषको निमोनियाका कारण आज दिउँसो १२ः३० बजे उपचारका क्रममा मृत्यु भएको प्रबन्धक दाहालले बताए ।

यसैगरी, कात्तिक १० गते संक्रमण पुष्टि भई सोही दिन उपचारार्थ नोबेलमा भर्ना भएकी मोरङको सुन्दरहरैँचा नगरपालिका १० घर भएकी ६९ वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको दाहालको भनाइ छ । महिलाको आज बिहान ३ बजे मृत्यु भएको उनले प्रष्ट पारे । यसैगरी, कात्तिक १३ गते नोबेलमा भर्ना भई सोही दिन संक्रमण पुष्टि भई आइसोलेसनमा उपचाररत रहेकी मोरङको उर्लाबारी नगरपालिका १ की ६६ वर्षीया महिलाको आज बिहान ५ बजे उपचारका क्रममा मृत्यु भएको दाहालले बताए ।

यता, विराट मेडिकल कलेजमा कात्तिक ६ गते भर्ना भएका विराटनगर महानगरपालिका ३ घर भएका ६५ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान ८ः३० बजे ज्यान गएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले बताए ।

यसैगरी, म्याक्स अस्पतालका प्रबन्धक हेमनारायण मेहताका अनुसार सो अस्पतालमा शुक्रबार भर्ना भई उपचाररत रहेकी उदयपुर घर भएकी ४२ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान ७ बजे मृत्यु भएको छ ।