इटहरीः मोरङको विराटनगरमा सञ्चालित निजी अस्पतालहरुले कोरोना संक्रमितको उपचारमा चर्को शुल्क असुल्न थालेका छन् ।
सरकारले निजी अस्पतालहरुलाई कोरोना संक्रमितको उपचारमा शुल्क उठाउन छुट दिएसँगै अस्पतालको मनोमानी बढेको हो । अहिले निजी अस्पतालहरुमा एकदेखि तीन लाख रुपैयाँको धरौटीका साथै दैनिक पाँचदेखि २५ हजार रुपैयाँसम्म उपचार खर्च असुली भइरहेको छ । महानगरमा सञ्चालित नोबेल शिक्षण अस्पताल, विराट मेडिकल कलेज र न्युरो अस्पतालले चर्को शुल्क असुली गरिरहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विराटनगर महानगर समिति विरोधमा उत्रिएको छ ।
एक लाख रुपैयाँ धरौटी लिएर मात्र संक्रमित भर्ना गर्दै आएको नोबेल शिक्षण अस्पतालले उपचार खर्चबापत जनरल वार्डमा प्रतिदिन ५ हजार, भेन्टिलेटरसहितको आईसीयूमा १८ हजार र भेन्टिलेटरबिनाको आईसीयूमा उपचार गर्दा प्रतिदिन १५ हजार असुलिरहेको छ । अस्पतालका प्रबन्धक नारायण दाहालले भने धरौटी नलिएको दाबी गरेका छन् । नोबेलमा उपचारका लागि आएकी मोरङको रतुवामाई १० घर भएकी ४५ वर्षीया नरमाया मगरलाई सोमबार कोरोना संक्रमण देखिएपछि उपचारार्थ नोबेल अस्पताल लगिएकोमा एक लाख रुपैयाँ धरौटी मागेपछि सो बुझाउन नसकेकै कारण उनले घरमै झुन्डिएर आत्महत्या गरेको पारिवारिक श्रोतको भनाइ छ ।
यता, लक्षण नदेखिएका संक्रमितलाई समेत एक लाख रुपैयाँ लिएर मात्र भर्ना गर्ने विराट मेडिकल कलेजले तीन लाख रुपैयाँ धरौटी लिएर मात्र आईसीयूमा भर्ना गर्ने गरेको छ भने उपचार खर्चबापत दैनिक २५ हजार तथा भेन्टिलेटरमा राख्दा दैनिक १५ हजार रुपैयाँ असुल्ने गरेको छ । प्रत्येक दिनको उपचार खर्च न्यूनतम आठ हजार लिने अस्पतालले लक्षण देखिएका बिरामीबाट दैनिक ५० हजार रुपैयाँसम्म असुल गरिरहेको छ । यसैगरी, सामान्य बिरामीलाई ५० हजार रुपैयाँ धरौटी लिएर मात्र भर्ना गर्ने न्युरो अस्पतालले आईसीयूमा राख्नुपर्ने बिरामीसँग एक लाख रुपैयाँ धरौटीका साथै दैनिक उपचार खर्च १५ हजार रुपैयाँ असुलिरहेको छ ।