इटहरीः मोरङको विराटनगरस्थित कोसी अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रसँगै रहेको गोदामलाई आइसोलेसन सेन्टरमा परिणत गर्ने कार्य अगाडि बढाइएको छ ।
विराटनगर महानगरपालिका र प्रदेश १ सरकारका साथै निजी क्षेत्रको सहकार्यमा एक सय बेड क्षमताको आइसोलेसन सेन्टर निर्माण थालिएको हो । प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले आज निर्माणाधीन आइसोलेसन सेन्टरको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री घिमिरेले निर्माण छिटै सम्पन्न हुने बताउँदै प्रदेश सरकार कोरोना नियन्त्रणका लागि कृयाशील रहेको उल्लेख गरे ।
संक्रमणको विस्तारलाई मध्यनजर गर्दै अस्पतालको क्षमता अभिवृद्धि गरिएको उनको कथन थियो । महानगरमा संक्रमित बढ्दै गएकाले अक्सिजन सहितको आइसोलेसन सञ्चालनको आवश्यकता बोध गरी निजी क्षेत्रको सहयोगमा छरितो प्रकृयाबाट निर्माण सुरु गरिएको बताए । नागरिक केयर सेन्टरका संयोजक तथा उद्योगी पवन सारडाले तिहारअगावै सेवा सुरु गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको बताए ।