इटहरीः आज शनिबार देशभर दुई हजार पाँच सय आठ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।
नयाँ संक्रमितमध्ये नौ सय ७६ जना महिला र एक हजार पाँच सय ३२ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा देशभर गरिएका नौ हजार दुई सय ७९ ओटा नमूनाको पीसीआर परीक्षणपछि यो संख्यामा संक्रमितको पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमांडौ उपत्यकामा नयाँ संक्रमितको संख्या एक हजार तीन सय ५७ जना रहेको छ ।
शनिबार संक्रमण देखिनेहरुमा प्रदेश नम्बर–१ मा ३१९, प्रदेश नम्बर–२ मा ११२, वाग्मती प्रदेशमा एक हजार ६३९, गण्डकी प्रदेशमा १८१, लुम्बिनी प्रदेशमा २०७, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा ३५ जना रहेका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एक लाख ७० हजार सात सय ४३ जना पुगेको मन्त्रालयको तथ्याङ्क छ । आज देशभर संक्रमणका कारण १७ जनाले ज्यान गुमाएपछि संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या देशभरमा नौ सय ३७ जना पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा निको हुने संक्रमितको संख्या दुई हजार दुई सय ६४ जना रहेको छ । यससँगै देशभर कुल एक लाख ३१ हजार दुई २२ जना संक्रमित निको भइसकेका छन् । हाल देशभर ३८ हजार पाँच सय ५७ जना सक्रिय संक्रमित रहेकोमा सात हजार पाँच सय ४९ जना संस्थागत तथा ३१ हजार आठ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । संक्रमितमध्ये हाल देशभर दुई सय ९६ जनाको आईसीयू तथा ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।