विराटनगर / प्रदेश नम्बर १ को नीति तथा कार्यक्रम पारित भएको छ । बुुधबार बसेको संसद बैठकमा नेपाली कांग्रेसले संशोधन प्रश्ताव पेश गरे पनि फिर्ता गरेन । संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता जयराम यादवले पेश गरेको संशोधन प्रस्ताव भने फिर्ता लिएका थिए ।
मुुख्यमन्त्री शेरधन राईले संशोधन प्रस्तावका विषय समेट्ने आश्वासन दिएका थिए । समाजवादी फोरमले प्रस्ताव फिर्ता लिए पनि नेपाली कांग्रेसले संशोधन प्रस्ताव फिर्ता लिएन । सभामुुख प्रदीपकुमार भण्डारीले प्रस्ताव फिर्ता लिन आग्रह गरे पनि फिर्ता नभएपछि कांग्रेसले गरेको संशोधन प्रस्ताव अस्वीकृत गर्दै नीति तथा कार्यक्रम पास भएको हो ।
४ दिन चलेको छलफल कार्यक्रममा सत्तापक्षका विभिन्न सांसदले थप गर्नुुपर्ने विषयमाथि चर्चा गरेका थिए । बुधबार पारित भएको नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रको विकासका लागि विशेष क्षेत्रहरूको प्राथमिकीकरण गरेर विकास गरिने उल्लेख छ । यस्तै, पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास गर्ने, सन् २०१९ लाई पर्यटन महोत्सव वर्ष र २०२० देखि २०२२ सम्मलाई पर्यटन वर्ष घोषणा गरिनेलगायतका कार्यक्रम उल्लेख गरिएको छ । गरिबी हटाउने, गरिब पहिचान गरी परिचयपत्र वितरण गर्ने, सो परिचयपत्रका आधारमा रोजगारीको अवसर गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, प्राविधिक तथा जीवनउपयोगी प्राविधिक शिक्षाको व्यवस्था गर्ने र कृषि क्षेत्रको विकासका लागि कृषिमा आधारित उद्योग स्थापनालाई प्राथमिकता दिइने विषय समेटिएको छ ।
प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले संघीयता कार्यान्वयनका लागि संवैधानिक अधिकार प्रयोग गरिने बताएका छन् । संसदमा बोल्दै उनले सिंहदरबारका अधिकार गाउँमा र प्रदेशमा आउन नदिन गरिने कुनै पनि चलखेल निस्तेज पारिने बताए । मन्त्री राईले प्रदेश सरकारले १५ वर्षको गुरुयोजना निर्माण गरेर अघि बढ्न लागेको उल्लेख गरे । उनका अनुसार छिट्टै एक समिति निर्माण गरी ६ महिनाभित्र गुरुयोजना निर्माण गर्ने र सोही योजनाका आधारमा विकास निर्माणका काम गर्ने तयारी छ । प्रदेशको सुकुम्बासी समस्या र अव्यवस्थित बसोबासको समस्या पनि ५ वर्षमा हल गर्ने उनले बताए ।
प्रदेशको कृषि क्षेत्रबाट उत्पादित वस्तुको बजारका लागि बंगलादेशसँग पनि कुरा भइरहेको जानकारी दिँदै मुख्यमन्त्री राईले भारत र चीनका कारण पनि प्रदेशलाई बजारको कुनै समस्या नहुने बताए । सरकारले ल्याएको नीति तथा कार्यक्रमको बुँदागत हिसाबले विपक्षीले आलोचना नगरेको भन्दै मुख्यमन्त्री राईले विपक्षीले आफ्नो धर्म निभाए पनि घुमाउरो पारामा कार्यक्रमको समर्थन गरेको दाबी गरे ।
प्रदेशसभा संसदमा सुझाव दिने सबै सांसदहरूलाई धन्यवाद दिँदै मुख्यमन्त्री राईले सरकारले ल्याएको नीति तथा कार्यक्रमले प्रदेश समृद्ध बन्ने दाबी गरे । विपक्षीले नीति र कार्यक्रमलाई सपनामा लेखेको कागजको पुलिन्दा भनेकोमा राईले त्यसको प्रतिवाद गरेका छन् । दिउँसै आँखा खोलेर देखेको सपना भएकाले नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने योजनासहित सरकार अगाडि बढेको उनको भनाइ थियो ।