सुनसरीः मोरङको जहदा गाउँपालिकामा सफारीभित्र लुकाएर ल्याउँदै गरिएको २८ किलो ४५० ग्राम गाँजासहित चालक पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बलको टोलीले सोमबार साँझ जहदा–७ स्थित झोलुंगे पुलमा चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो ।

बीओपी तारिगामाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक प्रयोजन घिमिरेको कमान्डमा खटिएको टोलीले लक्ष्मीनियाबाट झोलुंगे पुलतर्फ आउँदै गरेको को १–०२–००३ अ ६४९६ नम्बरको सीटी सफारी रोकेर जाँच गरेको थियो ।

जाँचका क्रममा सफारीमा लुकाएर राखिएको अवस्थामा गाँजासँगै एक कार्टुन अर्ना बियरसमेत फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको सफारीसहित चालक जहदा–७ का २४ वर्षीय देव मण्डललाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका मण्डललाई बरामद गाँजा, बियर र सफारीसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि सोमबार राति जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।