इटहरीः झापमा आज आइतबार तीन जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

जिल्लाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिका गरी तीन स्थानीय तहका एक एक जनाको मृत्यु भएको हो । दमक–७ घर भएका अन्दाजी ५० वर्षीय पुरुषको मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । शाखाका अनुसार हिजो उपचरार्थ अस्पताल भर्ना भएकोमा सोही दिन संक्रमण पुष्टि भएका उनको मृत्यु भएपछि दमकमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ जना पुगेको छ ।

यसैगरी, कमल गाउँपालिकामा ज्यान गुमाउने संक्रमित सोही गाउँपालिका ५ मंगलबारे घर भएका ७२ वर्षीय पुरुष रहेको गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताइन् । उनका अनुसार मोरङको बुढिगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेजमा गराइएको पीसीआर परीक्षणबाट संक्रमित पहिचान भई घरमै आइसोलेसनमा बसेका मृगौलाको समस्याबाट पीडित पुरुषको आज बिहान ज्यान गएपछि गाउँपालिकामा संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।

यसैगरी, गौरादह नगरपालिका ४ घर भएका ७४ वर्षीय पुरुष कात्तिक १३ गते संक्रमित पुष्टि भई घरमै आइसोलेसनमा रहेकोमा गएराति उनको ज्यान गएपछि नगरपालिका क्षेत्रमा मृत्यु हुने संक्रमितको संख्या ६ पुगेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द श्रेष्ठले बताए । यसका साथै झापामा कोरोना संक्रमणका कारण हालसम्म कुल ४३ जनाले ज्यान गुमाएका छन् ।