इटहरीः संखुवासभाको सदरमुकाम खाँदबारीस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयले संखुवासभा र भोजपुरका सामदायिक विद्यालयहरुलाई २० थान कम्प्युटर प्रदान गरेको छ ।
शाखा प्रमुख अनिष रायमाझीका अनुसार दुर्गम भेगका स्रोत साधनको अभाव भोगिरहेका विद्यालयहरुबाट प्रस्ताव आह्वान गरी छनौटमा परेका विद्यालयलाई शाखाले कम्प्युटर वितरण गरेको हो । सामाजिक उत्तरदायित्व बहन गर्दै समुदायलाई योगदान गर्ने उद्देश्यले कम्प्युटर वितरण गरिएको उनको भनाइ छ ।
एक विद्यालयले कम्तिमा दुई र बढीमा चार ओटा कम्प्युटर पाएको उनले उल्लेख गरे । कम्प्युटर वितरण गर्दै जिल्ला समन्वय प्रमुख सुमन शाक्यले कम्प्युटर प्राप्त गरेपछि विद्यालयलाई प्रविधिमैत्री बनाउन सहयोग पुग्ने बताए । यस कार्यक्रमले साधन र स्रोत कम भएका विद्यालयलाई गरेको सहयोग महत्वपूर्ण भएको उनको भनाइ थियो । गाउँपालिकाको एक मावि र चार आधारभूत विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको हो ।