इटहरीः पछिल्लो २४ घन्टामा मोरङको विराटनगरमा दुई जना कोरोना संक्रमित पुरुषले उपचारका क्रममा ज्यान गुमाएका छन् ।

कोसी अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रमा एक जना र नोबेल शिक्षण अस्पतालमा एक जना संक्रमितको ज्यान गएको छ । ज्यान गुमाउने संक्रमितहरु झापा र मोरङका रहेका छन् । कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भई कोसी अस्पतालको कोभिड उपचार केन्द्रमा उपचारार्थ भर्ना भएका विराटनगर महानगरपालिका ३ घर भएका ७० वर्षीय पुरुषको उपचारका क्रममा ज्यान गएको अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए ।

यसैगरी, नोबेल शिक्षण अस्पतालमा ज्यान गुमाउने संक्रमितमा झापाको दमक नगरपालिका–२ का ७२ वर्षीय पुरुष रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । उनका अनुसार कात्तिक १२ गते संक्रमित पुष्टि भई नोबेलको आइसोलेसनमा उपचाररत रहेका पुरुषको स्वास्थ्य अवस्था जटिल भएपछि उपचारका क्रममा ज्यान गएको हो ।