इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणको नतिजा अनुसार आज सोमबार थप ३७ जनामा कोरोना संक्रमण देखिएको छ ।
६ जना शंकास्पद संक्रमितको भने नतिजा आउन बाँकी रहेको प्रतिष्ठानका सहायक प्रवक्ता डा.आशिष श्रेष्ठले बताए । उनका अनुसार प्रतिष्ठानमा हालसम्म एक हजार २१ जना संक्रमित उपचारार्थ भर्ना भएकोमा सोमध्ये आठ सय ५५ जना सफल उपचारपछि डिस्चार्ज भएका छन् ।
प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा सञ्चालित आइसोलेसन सेन्टरमा हाल १९ जना संक्रमित रहेको सहायक प्रवक्ता श्रेष्ठको भनाइ छ । हालसम्म प्रतिष्ठानले ८८ जना संक्रमितलाई डाइलासिस सेवा प्रदान गरेको श्रेष्ठले बताए । उनका अनुसार प्रतिष्ठानमा हालसम्म ८० जना संक्रमितको उपचारका क्रममा ज्यान गएको छ ।