इटहरीःआज सोमबार बिहान मोरङका चार जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

मृतकहरुमा दुई जना विराटनगरको नोबेल शिक्षण अस्पताल तथा एक जना न्युरो अस्पतालमा उपचाररत संक्रमित रहेका छन् भने एक जना संक्रमितको घरमै आइसोलेसनमा रहेका बखत ज्यान गएको छ । नोबेल अस्पतालमा ज्यान गुमाउनेमा विराटनगर महानगरपालिका–६ घर भएका ८३ वर्षीय पुरुष र मोरङको उर्लाबारी नगरपालिका–६ घर भएका ५४ वर्षीय पुरुष रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । उनका अनुसार कात्तिक १२ गते संक्रमण पुष्टि भई उपचारार्थ नोबेलमा भर्ना भएका विराटनगरका पुरुषको आज बिहान ९ः४० बजे उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी, कात्तिक ४ गते संक्रमण पुष्टि भई सोही दिन उपचारार्थ भर्ना भएका स्वासप्रस्वासको समस्याबाट पीडित उर्लाबारीका पुरुषको आज बिहान ९ः३० बजे उपचारका क्रममा मृत्यु भएको प्रबन्धक दाहालले प्रष्ट पारे । उता, कात्तिक ६ गते संक्रमण पुष्टि भई घरमै आइसोलेसनमा रहेकोमा स्वास्थ्य अवस्था जटिल भएपछि कात्तिक १५ गते उपचारार्थ न्युरो अस्पतालमा भर्ना विराटनजगर १२ घर भएका ५३ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान ८ः५० बजे ज्यान गएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए ।

यसैगरी, गत कात्तिक ६ गते संक्रमण पुष्टि भई घरमै आइसोलेसनमा रहेका मोरङको उर्लाबारी नगरपालिका–७ घर भएका ५८ वर्षीय पुरुषको आज बिहान करिब ९ बजे घरमै ज्यान गएको वडाध्यक्ष वीरबल थापाको भनाइ छ । मृतक पुरुष लामो समयदेखि मृगौलाको समस्याबाट पीडित रहेकोमा डाइलासिसका क्रममा नोबेल अस्पतालमा गरिएको पीसीआर परीक्ष्ँणबाट उनमा संक्रमण देखिएको वडाध्यक्ष थापाले उल्लेख गरे ।