इटहरीः भोजपुरमा पहिलो पटक अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएको छ ।
पौवादुङ्मा गाउँपालिकामा स्थापना भई हिजो सोमबार उद्घाटन गरिएको सो अस्पतालमा अक्सिजन सहितका पाँच शैय्या उपलब्ध रहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । उनका अनुसार कोरोना संक्रमितको उपचारका लागि टाढा जानुपर्ने अवस्था रहेकोमा गाउँपालिकाले सुविधायुक्त अस्पताल सञ्चालन गरेको हो । संघीय सरकारको १० लाख रुपैयाँको सहयोगमा अस्पताल स्थापना गरिएको बताउँदै उनले आवश्यक सुविधा विस्तारका लागि लगानी गर्न गाउँपालिका तयार रहेको उल्लेख गरे । उनले भने,‘ कोभिड–१९ लाई लक्षित गरेर हामीले अस्थायी अस्पताल निर्माण गर्न सफल भएका छौँ, हाम्रा स्थानीय जनताको लागि अन्य आवश्यक सेवा सुविधा विस्तारका लागि स्वाथ्य, शिक्षा, यातयात खानेपानी लगाएतको क्षेत्रमा समेत काम गरिरहेका छौँ, यसले जनतालाई प्रत्यक्ष लाभ पुग्नेछ ।’
यस्तै, गाउँपालिकाकी उपाध्यक्ष सम्झना राईले अस्पतालले कोरोना संक्रमितका साथै गर्भवति महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको उपचारमा समेत योगदान गर्ने बताइन् । गाउँपालिकामा रहेका ज्येष्ठ नागरिक, बालबालिका लगायत स्वास्थ्य जोखिममा परेकाहरुलाई गाउँपालिकाले आफ्नै खर्चमा औषधि वितरण गरिरहेको बताउँदै उनले महिला स्वास्थ्यलाई मध्यनजर गर्दै शिविरसमेत सञ्चालन गरिएको बताइन् ।
गाउँपालिकाका अनुसार अस्पतालले जिल्ला अस्पतालबाट प्रवाह भइरहेका भिडियो एक्सरे, रगत जाँच, ल्याबजस्ता सेवा पनि प्रवाह गर्ने छ । अस्पतालमा मेडिकल अधिकृत स्तरका स्वास्थ्यकर्मीको सेवा उपलब्ध रहेको अस्पतालका चिकित्सक डा.कैलाश विश्वकर्माले बताए । भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले गाउँपालिकाले अक्सिजन सहितको अस्पताल सञ्चालनमा ल्याएर कोभिड संक्रमितको उपचार सहज बनाएको भन्दै प्रशंसा गरे । जिल्लाका अन्य स्थानीय तहमा पनि अस्पताल स्थापनाको तयारी भइरहेको उनको कथन छ ।