शंकर खत्री
इटहरीः सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ५ मा बनेको कोभिड १९ अस्पताल सञ्चालनको अन्तिम चरणमा पुगेको छ ।

प्रदेश सरकारको १० लाख रुपैयाँको लागतमा निर्माण भएको सो अस्पताल अबको केहि हप्तामा नै सञ्चालनमा आउन लागेको हो । रामधुनी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष डेगराज फुयाँलले तत्काललाई ट्रस हालेर अस्पताल सञ्चालन गरिने जानकारी दिए । ‘हामीलाई संघीय सरकारले १० लाख रुपैयाँ दिएको छ । त्यहि बजेटलाई परिचालन गर्दै हामीले यो आधारभूत स्वास्थ्य केन्द्रको भवनमा नयाँ कोभिड अस्थायी भवन निर्माण गरेका छौँ । यस्तै रामधुनी नगरपालिका र वडाको बजेटबाट अस्पतालमा कम्पाउन्ड वाल निर्माण गरेका छौँ’, उनले भने । साथै उनले संघीय सरकारले ३ महिनासम्मको कोभिड अस्पतालको खर्च व्यहोर्ने भएपछि अस्पताल सञ्चालन गर्न लागिएको जानकारी दिए ।

‘हामीलाई पनि एउटा कोभिड अस्पतालको आवश्यकता महसुस भइरहेको थियो । त्यसमा संघीय सरकारले ३ महिनासम्मको अस्पतालमा रहने एक जना एमबीबीएस डाक्टर, दुई जना स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगीको खर्च दिने जानकारी दिएको छ । सोही अनुसार हामीले काम अगाडि बढाएका छौँ । हामीलाई संघीय सरकारले साढे ४ लाख जनशक्ति व्यवस्थापनमा र बाँकी पूर्वधार विकासमा खर्च गर्न निर्देशन गरेको छ । सोही अनुरुप काम भइरहेको छ ।’, उनले भने । अस्पताल निर्माण समितिका अध्यक्षले नगरमा कोभिड अस्पताल सञ्चालनमा आएपछि नगरवासी खुसी भएको जानकारी दिए । ‘अहिले हाम्रै नगरमा कोभिड अस्पताल सञ्चालनमा आएपछि नगरवासीमा खुसीयाली छाएको छ । ५ जनासम्म कोरोनाका बिरामी आफ्नै नगरमा बस्न पाउने भएका छन । योसँगै यहाँ आधारभूत स्वास्थ्य चौकी पनि निर्माण भएको छ, यसले यहाँका जनतालाई थप राहत मिलेको छ ।’, उनले भने ।

यस्तै, रामधुनीका नगर प्रमुख जयप्रकाश चौधरीले तयारी अवस्थामा रहको आधारभूत स्वास्थ्य चौकीको भवनको हाताभित्र ट्रस हालेर अस्पताल सञ्चालन गरिने जानकारी दिए । ‘तत्काललाई हामीले संघीय सरकारको १० लाख बजेटमा तयार अवस्थामा रहेको आधारभूत स्वास्थ्य केन्द्रको भवनमा कोभिड अस्पताल सञ्चालन गरेका छौँ । त्यति रकमले मात्र कोभिड अस्पताललाई सञ्चालन गर्न सकिँदैन । तत्काललाई त्यतिले व्यवस्थापन गर्न सहज भए पनि आगामी दिनमा कति खर्च लाग्छ भनेर हामीले आँकलन गर्न सक्दैनौँ । आगामी दिनमा लाग्ने खर्च नगरले व्यहोर्ने छ ।’, उनले भने । सो अस्पतालको घेराबार सकिएको छ । अब अस्पतालमा जाने सडकको मर्मत गर्ने र अस्पतालमा ट्रस हाल्ने तथा पुर्वधार जोड्ने काम मात्र बाँकी रहेको छ ।